March 13, 2025, Thursday
२०८१ चैत्र १
1:37:26 pm

कविता : ‘बर्खा अनि ऊ र म’

16.8K

जुनु दिव्या राना

हरेक बर्ष बर्खा आउँदा
धर्तीले श्रृङ्गार गर्छ
पाखाहरुमा शीतको थोपा टल्किदा
लाग्छ यो भन्दा उन्मुक्त बैँस छैन

खोलाहरु नाग बनेर
कठोर चट्टानको प्रवाह नगरी
वेगिन्छन
लाग्छ ती नदीको समीप पुग्न आतुर भएका हुन्
र नदी युगौंदेखि भेट्न पर्खिएको
प्रेमी हो
जसको अनुपस्थितिमा
खोलाले हिउँदको सुख्खापन सहनुपरेको थियो

Advertisement

खेतमा लहराएका बालीहरु
र, तिनको सुगन्ध
भिजेको माटोको सुगन्ध
लाग्छ कुनै कुमारी आफ्नो केश लहराउँदै
देउरालीमा कसैलाई पर्खिरहेकी छिन्
प्रतीक्षाको सुगन्ध
त्यहि लहराईरहेको केशमा पोखिएको जस्तैः

ऊ आएको पनि थियो मेरो हृदयसम्म
म त बगर जस्तै सुख्खा थिएँ
बर्खा बनेर उसले
मभित्रका हरियाली जगाएको थियो
वेरङ्ग थिएँ म
कुनै उत्साह बेगर
लक्ष्य रहित यात्री जस्तो
ऊ आएर मेरो जिन्दगीलाई
खोलाको रुप दिएको थियो
आफू नदी बनेर
बगर समान मलाई बग्न सिकाएको थियो

मेरा उजाड मनका पाखाहरुमा
उसको स्पर्शको कल्पनाले मात्रै
लहराउन थालेका थिए
खुशीका खरहरु हरियो बनेर
आशाहरुका जरुवाहरु बग्न थालेका थिए

जसरी धर्तीलाई शितलता दिन बर्खा आउँंछ
त्यसरी ऊ
मेरो जिवनको हिउँद हटाउन
बर्खाको स्वरुपमा
नदी बनेर म सम्म आईपुगेको थियो…
तर विडम्बना
नदीको गन्तव्य खोला होइन भन्ने भुलेछु मैले
जहाँ,
उसको सागरले उसलाई
कुरिरहेको थियो….!