इक्साहाङ चेम्जोङ
म सम्झिन्थें
मेरो गाउँ ‘अर्ग्यानिक’ छ
गाउँको आत्मा पवित्र छ
तर, फगत बगिरहेको रहेछु भ्रमभित्र
हावामा कावा खादै
मेरो गाउँको ‘अर्ग्यानिकता’मा त
उहिले नै कतिबेला
कस्ले बिषादी छरिसकेको रहेछ
त्यसैले,
अचले मेरा गाउँलेहरु
अर्ग्यानिकता पखाल्छन् माईखोलामा
सिसेक्पा तङ्नामको नाममा
पबित्र माईखोलाको पानीले
पखालेर आफ्ना यौनाङ्ग
शिवलिङ्ग ढोगेर
व्रत बस्न थालेका छन् मेरा चेलीहरु
शिवजीको नाममा
मलाई लाग्छ–
मेरो गाउँको आत्मामा प्रेत बसेको छ
मेरो गाउँको आत्मामा प्रेत पसेपछी
अचेल मेरा गाउँलेहरु
याक्थुङ भाषा बुझ्न छाडेका छन्
संस्कृति बिर्सन थालेका छन्
मन्दिर बसेको छ
मुन्धुम फलाक्ने माङ्थानामा
चर्च उभिएको छ
युमाले तान बुन्ने ठाउँमा
अचेल त
हाक्पारेको लयमा भजन सुनिन्छ
पालामको भाकामा बाईबलका वचन सुनिन्छ
पक्कै गाउँको आत्मामा चुडेल बसेको छ
मेरो गाउँको आत्मामा प्रेत बसेपछी
आफूलाई आफैले
चिन्न छोडिए जस्तो हुन थालेको छ
नाम, थर, जात सप्पै–सप्पै
भुलिएला जस्तो भएको छ
अस्तित्वको धरातल बिर्सिएला जस्तो भएको छ
पहिचानको रंग चिन्न छोडिएला जस्तो भएको छ
प्रेतले काल्पनिक रामायणको तपोवनमा
पु¥याउला जस्तो भएको छ
हौ ! तुतुतुम्याहाङ् आदाङ्बासे !
सुन्दरी प्रेतको मायाजालमा नफसौं
जाउँ बिराटनगर !
पलेटी कसेर हाक्पारे गाउँ
साम्बालाई तिनराते तङ्सिङ उभ्याउन लगाउँ
प्रेत मार्न लगाउँ येबालाई
गाउँको माङ्गेना उठाउन लगाउँ फेदाङ्बालाई
पाःलाम गाउन लगाउँ थाङ्बेन मेन्छ्याहरुलाई
दुरुपे धाननाचको मोर्चामा बाँधिएर
एकचोटि हुँकार ओकलौं
बेस्सरी हल्लाउँ विराटनगर
पकन्दीको लयले ।