–अशोक चाम्लिङ राई
म सानो छँदा
स्वाबुंगे काकाले जुरूक्क बोक्थे मलाई
कुत्कुती लाउथे
मेरो गालाभरि उनको पातला दारीले घोच्थे
निकै पर पुर्याएर छोड्थे
फर्केर आउन मलाइ गार्हो लाग्थ्यो ।
उनको कम्मरमा पटुकी
पटुकीमा राखेको खुकुरी
खुकुरीको दापमा चाँदीको फूलबुट्टा र एउटा फुर्का
दौरा सुरूवाल र ढाका टोपीले
पक्का लिम्बुवानी थिए उनी ।
जुवा तासेलाई लखेट्थे उनी
खोपी गुच्चा खेल्नेको भागा–भाग् हुन्थ्यो
एकपटक मात्रै पक्राउ परेको म
सारै बिस्मातमा परेँ
बिर्सेकै थिएनछन् काकाले
पछि आँप खान गाको बेला
संझाए उनले त्यो कुरा
उनको नमूना बगैँचाको
कलमी आँप, अम्बक, कटहर र बडार
अहिले पनि संझना छ ।
थाहै नपाइ काकीलाई लिएर
गैडे पुगे रे काका
माइ खोला तिरमा मन्दिर थियो रे उनको
धेरै बर्षपछि मेरो माइला बाको अन्त्येष्टिमा
झुल्केका थिए स्वाबुंगे ।
निसन्तान थिए स्वाबुंगे
तर कहिले तनाब देखिएन उनमा
सधैं खुसी
सधैं हसिला
तर कहिलेकाहि पिपीरी बजाएर
अरूलाई पो बिरहमा पार्थे स्वाबुंगे ।
छरछिमेकको हालखबर बुझ्थे
मर्दा पर्दा सबैभन्दा अघि पुग्थे
छुवाछुतको मतलब थिएन उनमा
सुद्रकोमा पनि उतिकै खट्थे
भैंसी सुगुर काट्दा
गाउँले सबैलाई मासु लाउथे
संसारी पूजामा एक्लै लाग्थे
सबै गाउँलेको कामना गर्थे
प्रसाद ल्याएर सबैलाई बाड्थे ।
कहाँ होलान ती स्वाबुंगे काका !