मीरा प्रसाई
–पृथ्वी
जमीनको माटो हत्केलामा उठाएर हेरेँ
केहिबेर हेरिरहेँ स्पर्शद्वारा महसुस गरेर
श्रदार्पूवक माटोलाई नमन गरेँ
र, निधारमा त्यही माटोको एक थोप्लो टिको लगाएँ
देख्नेले व्यङ्ग्य भावले भने
निक्कै सुहायो !
– जल
कुवाको पानी हातमा उगाएर
पिउनुपूर्व पानीलाई हेरेँ
केहिबेर हेरिरहेँ,
स्पर्शद्वारा महसुस गरेँ
र पानीप्रति कृतज्ञ हुँदै नमन गरेँ ।
देख्नेले भने
– किन पानीलाई त्यसरी घुरेर हेरेको ?
– अग्नि
बलिरहेको अग्नि स्पर्शद्वारा महसुस गरेँ
र अग्निप्रति कृतज्ञ भएँ
नमन गरेँ,
र म भित्रको अग्नि जगाउन
दायाँबायाँ अगाडि पछाडि शरीर सेकाएँ ।
देख्नेले भने
– दिमाग खुस्कियो कि क्या हो ?
– वायु
चर्मद्वारा प्रेमपूर्ण स्पर्श गरेँ र महसुस गरेँ
वायुप्रति कृतज्ञ भएँ
र वायुलाई नमन गरेँ
फोक्सो भरी वायुलाई समाहित गर्न मन लाग्यो ।
हात फैलाएँ र लामो श्वास तानेँ
देख्नेले भने
– हरे ! के ग¥या होला त्यस्तो !
– आकाश
आकाश तत्वप्रति कृतज्ञ हुँदै
शीर उठाएर हेरेँ
केहिबेर हेरिरहेँ,
दृश्यद्वारा महसुस गरेँ
र आकाश तत्वलाई झुकेर नमन गरेँ
देख्नेले भने
– आमाबा त ज्युदै छन् नि हैन र ?
शरीर निर्माणको सृष्टि प्रकृति
तत्व र संरचनाप्रति श्रद्धाले कृतज्ञ भएर
मैले नमन गरेथेँ ।
देख्नेले खुल्दुली मेटाउन सोधे
– के गरेको यस्तो ?
मैले भनेँ
– सृष्टिलाई नमन गरेको
– जीवन तत्वलाई आदर गरेको,
– मन र शरीरको सन्तुलन मिलाएको
– आफैंलाई नमन गरेको ।
उनिहरू नमिठो हाँसे
र अन्ततः मलाई ‘बौलाही’ घोषणा गरे ।
मेयङ्लुङ तेह्रथुम , हाल लन्डन