काठमाडौं : इजिप्टको राजधानी कायरोमा नेपाली मौलिक कला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गरिएको छ।
नेपाली राजदूतावासको आयोजनामा बुधबार र बिहीबार कायरोको जमालेकस्थित इल सावे कल्चर व्हिलमा कार्यक्रम भएको हो।
कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–संगीत प्रस्तुत गरिएको थियो। प्रदर्शनी कक्षमा ३७५ विदेशी नागरिकले अवलोकन गरेको दूतावासले जनाएको छ।
प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए। नेपालको पर्यटन प्रवर्धनसँग सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो।
प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान, ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलंका फिलिपिन्स, अष्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, घानालगायत मुलुकका पर्यटन प्रवर्धनसम्बन्धी कक्ष राखिएका थिए।
त्यहाँस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालसहित कूटनीतिक तथा स्थानीय कर्मचारीको समेत सहभागिता रहेको उक्त कक्ष र सांस्कृतिक कार्यक्रमको स्थानीय, इजिप्टमा रहेका विदेशी नागरिक तथा विभिन्न देशका कूटनीतिक कर्मचारीलगायतले अवलोकन गरेका दूतावासले जनाएको छ।
कार्यक्रमलाई त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सहयोग पुर्याएका थिए। इजिप्टमा करिब ३०० नेपाली विद्यार्थी चिकित्सा संकायमा अध्ययनरत रहेको दूतावासले जनाएको छ।