वासिंटन– अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताएका छन्।
साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उनले उल्लेख गरेका छन्।
बिबिसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेटले बाइडनको यो कदमलाई एकदमै महत्त्वपूर्ण भनी व्याख्या गरिन्। ‘यो युद्ध अन्त्य गर्नका लागि कठिन छ भन्ने विषयमा कसैलाई पनि द्विविधा छैन‚’ उनले भनिन्‚ ‘तर राष्ट्रपति बाइडनले पहिलो कदम चालेका छन् र यसले एकदमै सशक्त सङ्केत गरेको छ।’
द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडनले बताएका छन्।
तर साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता जारी राख्ने उनले बताए।