काठमाडौं – म्यानमारमा सेनाले सरकार सञ्जालन आफ्नो हातमा लिएपछि अमेरिकालगायतका देशले विरोध गरेका छन्।
सोमबार बिहान प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएपछि अमेरिका, अस्ट्रेलिया र अन्य मुलुकले विज्ञप्ति जारी गर्दै म्यानमारको पछिल्लो अवस्थाप्रति चिन्ता प्रकट गर्दै सेनालाई कानुनी शासनको सम्मान गर्न आग्रह गरेका छन्।
वासिङ्टनमा ह्वाइट हाउसकी प्रवक्ता जेनसाकीले एक वक्तव्य जारी गर्दै म्यानमारको लोकतान्त्रिक संक्रमणकालिन अवस्थालाई नजरअन्दाज गरी वर्मेली सेनाले गरेका कुनै पनि कार्यप्रति अमेरिकाको समर्थन नरहने अमेरिकी धारणा प्रस्ट रहेको बताइन्।
उनले स्टेट काउन्सिलर आङ सान सुकी र अन्य नागरिक पदाधिकारीको गिरफ्तारी आपत्तिजनक रहेको बताएकी हुन्। अस्ट्रेलियाकी विदेश मन्त्री म्यारिस पेनले सुकी र अन्य गिरफ्तार गरिएका सबैलाई हिरासतमुक्त गर्न आग्रह गरिन्।
उनले गत नोभेम्बरमा सम्पन्न चुनावको नतिजा अस्ट्रेलियाका लागि स्वीकार्य रहेको जनाउँदै त्यस निर्वाचनबाट प्राप्त नतिजा बमोजिम शान्तिपूर्ण रुपमा राष्ट्रिय सभाको बैठक बस्नुपर्ने अस्ट्रेलियाको धारणा रहेको उल्लेख गरेककी छन्।
गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन।