April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालमा लगाइएको आष्ट्राजेनेका भ्याक्सिन किन अमेरिकामा स्वीकृत छैन ? यस्तो छ कारण

2.4K

काठमाडौँ – यूकेमा उत्पादन गरिएको ‘अक्सफोर्ड आष्ट्राजेनेका कोभिड- १९’ भ्याक्सिनको भारतीय उत्पादन ‘कोभिशिल्ड’ नेपालमा लगाउने काम जारी छ । भारतले भ्याक्सिन कुटनीति अन्तरगत १० लाख डोज नेपाललाई उपहार दिएपछि नेपालमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुलाई यो भ्याक्सिन दिन सुरु गरिएको हो ।

यो भ्याक्सिन यूकेमा स्वीकृत भइसकेको छ तर अमेरिकामा भने यो भ्याक्सिन अझै प्रयोगमा आएको छैन । अष्ट्राजेनेकाले अमेरिकामा भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि अझै केही महिना आवेदन नदिने जनाइएको छ । यूकेमा गरिएको परीक्षणमा केही अनौठा र अमिल्दा तथ्यांकहरु देखिनुका साथै यसमा एउटा गम्भीर प्रकारको गल्ती देखिएका कारण अमेरिकामा आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिनमा समेत ढिलो भएको अमेरिकाका भ्याक्सिन विज्ञहरुले बताएका छन् ।

यूकेमा डिसेम्बर ३० मा नै प्रयोगको स्वीकृति पाएको यो भ्याक्सिनले लगत्तै भारत, मेक्सिको, अर्जेन्टिना र अन्य केही देशमा पनि जाने अनुमति पाएको थियो । सेरम इन्स्टीच्युट अफ इन्डियाले भारतमा भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । र लगत्तै नेपालमा पनि भ्याक्सिनको प्रयोगका लागि अनुमति दिइएको थियो ।

Advertisement

दुई डोज दिनुपर्ने यो भ्याक्सिन अमेरिकामा भने तत्कालै प्रयोगमा आउने सम्भावना देखिएको छैन । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले कुनै पनि भ्याक्सिनलाई प्रयोगको अनुमति दिनु अगाडि खोपको स्वतन्त्र छानविन गर्नुका साथै भ्याक्सिनको सुरक्षा र प्रभावकारिता तथ्यांकको आफ्नौ वैज्ञानिक समिक्षा गर्छ ।

अमेरिकामा यसबारे अध्ययन गर्ने स्वतन्त्र सल्लाहकार समिति समेत रहेको छ । यो स्वतन्त्र समितिले एफडीए र भ्याक्सिन कम्पनीबाट आएका तथ्यांकको स्वतन्त्र रुपमा विश्लेषण गर्छ । बेलायतमा भने स्वीकृति प्रदान गर्ने नियामक एजेन्सी भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको निष्कर्ष निकाल्न कम्पनीको तथ्यांकमा भरपर्छ ।

अमेरिकाको एफडीएले आष्ट्राजेनेका भ्याक्सिनको पेपरवर्क प्राप्त गर्नका लागि प्रतिक्षा गरेपनि आष्ट्राजेनेका भ्याक्सिनले उचित पेपरवर्क तयार गर्न अझै सकेको छैन । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा झण्डै ५ हजार ८ सयमा गरिएको परीक्षणमा यो भ्याक्सिन लक्षण सहितको कोरोना रोकथामका लागि ६२ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।

आष्ट्राजेनेका परीक्षणमा एउटा गम्भिर गल्ती समेत भएको थियो । ५५ बर्षभन्दा कम उमेरका परीक्षणमा सहभागी एउटा समुहलाई गल्तीले भ्याक्सिनको पहिलो डोजको पूरै मात्रा नभई आधामात्रा प्रदान गरिएको थियो । त्यसपछि दोश्रो डोजको भने पूरै मात्रा प्रदान गरिएको थियो । अमेरिकाको भ्याक्सिन स्वीकृतिका लागि अनुमति दिने निकाय एफडीएका सल्लाहकार समितिका सदस्य समेत रहेका भ्याक्सिन विज्ञ डाक्टर कोडी मेस्नरले यसलाई गम्भिर प्रकारको गल्ती भएको बताएका छन् ।

यहाँ अनौठो त के छ भने पहिलो डोज आधा र दोश्रो डोज पूरै प्राप्त गरेका परीक्षणमा सहभागीहरुमा कोरोनाको संक्रमणबाट बच्नमा प्रभावकारिता बढी अर्थात् ९० प्रतिशतसम्म देखिएको थियो । पहिलो डोज पूरै लगाएकाहरुको तुलनामा आधा लगाएकाहरुमा भ्याक्सिन बढी प्रभावकारी देखिएपछि विज्ञहरु नै अलमलमा परेका छन् । तर पहिलो डोज गल्तीले आधा र दोश्रो डोज पूरै लगाएकाहरु १४ सयजनामात्र रहेका थिए ।

अर्कोतर्फ अमेरिकामा यो भ्याक्सिन स्वीकृतिका लागि भ्याक्सिनको तेश्रो चरणको परीक्षण बाँकी नै रहेको छ । आष्ट्राजेनेकाले भ्याक्सिनको अमेरिकामा तेश्रो चरणको परीक्षणका लागि ३० हजार व्यक्ति तयार पारिसकेको जनाएको छ । उनीहरुलाई २८ दिनको अन्तरमा दुईवटा डोज दिने बताइएको छ । अमेरिकाको एफडीएले कम्तीमा १५ हजारमा परीक्षण गर्न भनेको छ । त्यसै अनुशार तेश्रो चरणको परीक्षण पूरा गरेर यो भ्याक्सिनले अमेरिकामा स्वीकृतिका लागि आवेदन दिनका लागि अप्रिलसम्म कुनुपर्ने सम्भावना देखिएको छ ।