एजेन्सी- अमेरिकी राष्ट्रपति चुनिएसँगै जो बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन जुटेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका बाइडेन ह्वाइट हाउसको बागडोर सम्हाल्नअघि आफ्ना रणनीतिकारहरूसँग कार्ययोजना बनाउन ब्यस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेको छ ।
बाइडेनको टोलीका अनुसार अब अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई अनिवार्यरूपमा मास्क लगाउन भनिनेछ।
बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्र उकास्ने खालका कार्ययोजना ल्याउने तयारी थालेको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले पेरिस सम्झौता पुन: स्वीकार गर्नेछ।
यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ।