April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

2K

वासिङ्टन – पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उहाँ विरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापी विचाराधीन छ ।

डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ । उक्त प्रस्तावमा आगामी फेब्रुअरी ९ देखि सिनेटमा छलफल गर्नेगरी कार्यतालिका सार्वजनिक भइसकेको छ । ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लीकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ र समर्थन गर्नु पर्नेछ जुन डेमोक्रेटका लागि फलामको च्यूरा चपाएसरह हुनेछ ।

अमेरिकी कानुन बमोजिम कुनै पनि राष्ट्रपति विरुद्धको महाभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक पर्दछ । हाल सिनेटमा रिपब्लीकन र डेमोक्रेट पार्टीबाट ५०–५० सदस्य छन् । पूर्व राष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त भई विदा भइसकेको अवस्थामा महाभियोगमाथि छलफल गर्नुको औचित्य छैन भन्ने केन्टकी राज्यका रिपब्लीकन सिनेटर रान्ड पलको भनाईलाई सिनेटमा भएको मतदानमा ५५–४५ ले अस्वीकार गरेको थियो । मतदानपछि बोल्दै सिनेटर पलले ४५ जना सिनेटर महाभियोगको विपक्षमा रहेकाले महाभियोग प्रस्तावको संवैधानिक आधार समाप्त भइसकेको जिकिर गर्नु भएको थियो ।

Advertisement

महाभियोगको सुनुवाईको अध्यक्षता गर्नु भएका ८० वर्षीय सिनेटर प्याट्रिक लेही मङ्गलबारको प्रारम्भिक सुनुवाईपछि एकाएक अस्वस्थ भएर अस्पताल भर्ना हुनु भएको थियो । तर उहाँको स्वास्थ्य अवस्था सुधार भइसकेको उहाँका प्रवक्ताले बताएका छन् ।