April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चीनमा दुई सातादेखि खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

2.1K

बेइजिङ – चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरुले बताएका छन् ।

खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूरहरु खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रशारण संस्था सिसिटिभीले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिम पटक दुई जना मजदूरलाई बाहिर निकालिएको थियो । यो सहित उद्धार गरिएकाको संख्या ११ पुगेको छ ।

Advertisement

हाल उद्धार अभियान सञ्चालनका लागि ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको छ । खानीभित्र करिब ६०० मिटरको गहिराईमा ती मजदूरहरु गत जनवरी १० मा फसेका थिए । यो खानीस्थल पूर्वी शाङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको छ ।

आइतबार अघिसम्म उद्धारकर्ताहरुले खानीभित्र फसेका १० जना मजदूरसँग मात्र सम्पर्क स्थापना गर्न सफल भएका थिए ।

उद्धारकर्ताहरुले खानीभित्र फसेका व्यक्तिका लागि ढुङ्गामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए । खानीभित्र हराइरहेका अरु व्यक्तिको खोजी एवं पहिचान गर्नका लागि डिटेक्टर र पोषक तत्वहरु पनि पठाइएको छ ।