काठमाडौं । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’ एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू साझा गर्ने बताएको छ।
विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्। उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन्।
गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन्। केन्द्र सरकारबाट उनलाई सबै सम्भव सहयोगको आश्वासन दिइएको छ।




