वाशिङटन–अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीको सामना गर्न १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। कोरोना महामारीको सामना गर्ने सम्बन्धमा बाइडेनले ती कार्यकारी आदेशहरु जारी गरेका हुन्।
उनले कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन र वितरण तीव्र बनाउने, परीक्षणहरु बढाउने, अत्यावश्यक सामग्रीको उत्पादन बढाउन संकटकालीन कानुन सकृय बनाउने, विद्यालयहरु सुरक्षित तरिकाले खोल्नेलगायतका कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
बाइडेनले कोरोना महामारीको सामना गर्न युद्धको बेलाजस्तै कदमहरु समेत उठाएका छन्। कोरोना महामारीका कारण दोश्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरुभन्दा धेरै अमेरिकीको मृत्यु भइसकेकाले युद्धकालीन कदम उठाउनुपरेको उनको भनाइ छ।
कार्यकारी आदेशमा भ्याक्सिन वितरण केन्द्रहरुको संख्या बढाउनुका साथै संघीय सामुदायिक भ्याक्सिन वितरण केन्द्रहरु खोल्नेसम्मका योजना छन्।