April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

1.9K

काबुल: अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहेकै बेला व्यक्ति हत्याको क्रम बढेको छ ।

पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ । अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ ।

दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए । ‘दुर्भाग्यवस, आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौं’ उनले भने, ‘उनीहरुका सवारी चालक घाइते भएपनि सकुशल छन् ।’

Advertisement

प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् । काबुल प्रहरीले पनि आक्रमणको पुष्टी गरेको छ । अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए ।

हालैका महिनामा राजनीतिकर्मीहरु, पत्रकारहरु, अधिकारवादीहरु, चिकित्सक र कानुन व्यवसायी समेतका माथिल्लो पंक्तिका धेरै अफगानीहरुलाई लक्षित गरी काबुल र अन्य शहरमा दिनदहाडै सिलसिलाबद्ध आक्रमण भइरहेका छन् । अफगान अधिकारीहरुले ती आक्रमणहरु तालिबान समूहले गराएको आरोप लगाउँदै आएका छन् तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ ।