काठमाडौं । मोरक्कोमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ । शुक्रबार राति गएको ६.८ रेक्टर स्केलको भुकम्पमा परी ६ सय बढीको मृत्यु हुनुका साथै ३२९ जना घाइते भएको हो । घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।
भुकम्प गएको केन्द्रबिन्दु क्षेत्र माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ । यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ । भुकम्पमा माराकेस र त्यहाँबाट दक्षिणका क्षेत्रमा मानिसहरूले ज्यान गुमाएको बताइएको छ ।
भुकम्प स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा गएको थियो । त्यसको १९ मिनेटपछिको परकम्प ४.९ म्याग्निट्यूडको मापन गरिएको छ ।
सामाजिक सञ्जाल एक्समा राखिएका भिडिओमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ । धुलोको मुस्लोहुँदै मानिसहरू हिँडिरहेको र केही मानिसहरू भागिरहेको पनि देख्न सकिन्छ ।
भुकम्पबाट माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएका छन् । सामाजिक सञ्जाल एक्सका कैयौँ क्लिपहरूमा भवनहरू भत्किरहेको देख्न सकिन्छ तर ती कहाँका भवनहरू हुन भन्ने पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।