लन्डन । सात जना शिशुको हत्या गरेको अभियोगमा एक बेलायती नर्सलाई जन्मकैदको सजाय सुनाइएको छ । नर्दन इंग्ल्याण्डको चेस्टर अस्पतालमा कार्यरत ३३ वर्षीया नर्स लुसी लेट्बीलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
गत साता लेट्बीले आफू कार्यरत अस्पतालमा जन्मिएका कम्तीमा सात शिशुको हत्या गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सम्प्रेषण भएका थिए । उनले २०१५ देखि २०१६ को अवधिमा। ती नवजात शिशुलाई अत्यधिक दूध खुवाएर तथा सुईबाट विष दिएर हत्या गरेको खुलासा भएको हो ।
छोटो अवधिमा शिशु मृत्युको क्रम बढेपछि लुसी कार्यरत अस्पतालका केही चिकित्सकले उनीमाथि नै शंका गर्दै घटनाको छानबिनका लागि अस्पताल प्रशासनसँग बारम्बार आग्रह गर्दै आएका थिए । अस्पतालका सञ्चालकले भने यस घटनाको छानबिनका लागि लामो समयसम्म चासो देखाएका थिएन ।
उनलाई म्यान्चेस्टर क्राउन कोर्टका न्यायाधीशले सोमबार उनीविरुद्ध जन्मकैदको फैसला सुनाएका हुन् । बच्चाहरूको पालनपोषण र हेरचाह गर्ने सामान्य मानवीय प्रवृत्तिको पूर्ण रूपमा विपरीत भएको र जानाजान यस्तो गरेको प्रमाणित गरेको भन्दै न्यायाधीशले अब बाँकी जीवन जेलमै बिताउनुपर्ने बताए ।
नर्स लुसीले भने अदालतमा उपस्थित हुन इन्कार गरेकी थिइन् । न्यायाधीशले भिडियो मार्फत् नै उनलाई सजाय सुनाएका हुन् । पीडितका परिवार भने अदालतमा उपस्थित थिए ।
यस प्रकृतिको शिशु हत्याको घटना बेलायती इतिहासमै डरलाग्दो भन्दै विभिन्न राजनीतिक दलका नेता तथा अधिकारकर्मीहरूले आलोचना गरेका थिए ।