न्यूयोर्क: अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ।
संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन् । संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो ।
इलेक्टोरल मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ ।
इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो ।