April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अध्ययनरत विदेशी विद्यार्थीलाई ई-९ भिसा दिने तयारीमा कोरिया

3.9K

सिओल-दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ।  यहाँ अध्ययनरत  विज्ञान र ईञ्जिनियरिङ विषयमा स्नातकप्राप्त विदेशी विद्यार्थीलाई उक्त भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनले जनाएको छ।

रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको उक्त अवधारणका विषयमा कानुन मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानुन ल्याई कार्यान्वयनमा ल्याउने गरी काम सुरु भएको बताईएको छ।

तोकिएको विषयमा चारवर्षसम्म कोरियामा अध्ययन गरी अन्डरग्रयाजुयट विद्यार्थीलाई रोजगारी प्रदान गर्न उक्त कानुन आउन लागेको हुन सक्ने युनियनका अध्यक्ष उदय राईले बताए ।

Advertisement

सरकारले यसरी प्रदान गर्ने ई-९ भिसा यहाँको श्रम तथा रोजगार मन्त्रालयले प्रदान गर्ने छ। तर उनीहरुलाई के-कति समयको भिसा दिने वा दक्षता हेरेर थप भिसा दिने भन्ने विषय कानुन मन्त्रालयले निर्णय गर्ने राईको भनाइ छ।

तत्काललाई उक्त विषय अवधारणाको रुपमा मात्र आएकाले यहाँको रोजगार तथा श्रम र कानुन मन्त्रालयले संयुक्त रुपमा सर्वेक्षण गरिसकेपछि मात्र निर्णय आउने बताईएको छ। हाल कोरिया सरकारले एचआरडी कोरियामार्फत् ईपियस भाषा परीक्षा गराई विश्वका १६ देशबाट ल्याउने गरेका श्रमिकलाई पनि ई-९ भिसा दिने गरेको छ।

ईपियस प्रणालीमार्फत्  ल्याईने श्रमिकलाई उद्योग तथा कृषि क्षेत्रमा निम्नस्तरको काममा लगाईँदै आएको छ। उक्त प्रणालीबाट आएका श्रमिकलाई ४ वर्ष १० महिनाको मात्र कोरिया बसाईको भिसा दिने गरिएकाे छ।

मन्त्रालयको अवधारणभित्र पर्ने विद्यार्थीको पनि ई-९ भिसा प्राप्त गरिसकेपछि ४ वर्ष १० महिनापछि स्वत: भिसा अवधि समाप्त हुने हो वा अन्य विकल्प दिईन्छ भन्ने विषयमा कानुन बनेपछि मात्र थाहा हुने सरोकारवालाको भनाइ छ।

तर कोरियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीका अगुवाले भने सरकारको उक्त अवधारणालाई स्वागत गर्न नसकिने बताएका छन् ।