April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

परिवर्तित अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

3K

काठमाडौँ – सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया जिम्मेवार रहे । यी दुई मुलुकबीचको सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालमा व्यापार विवादका कारण थप तिक्ततापूर्ण बनेको देख्न सकिन्छ ।

यो वर्ष विश्व नै महामारीका कारण गन्तब्यहीन बन्न पुग्यो । करिब आधा वर्ष अत्यन्तै निराशा पैदा गरेको कोभिड–१९ विरुद्धको लडाई केही विश्वविद्यालयको सहकार्यमा विश्वका औषधि कम्पनीहरूले विकास गरेका खोपको अध्ययन, अनुसन्धान र प्रयोगले सफलतातर्फ अघि बढेको देखिन्छ । दुई देशको सम्बन्ध अहिलेसम्म पनि सुधारउन्मुख देखिएको छैन । यद्यपि अमेरिकी राजनीतिमा आएको परिवर्तन (राष्ट्रपतिमा जो वाइडेनको आवागमन)पछि विश्वका प्रमुख दुई अर्थतन्त्रबीचको विवादले सही दिशा लिनेमा विश्व समुदाय आशावादी बनेको छ ।

गत वर्ष (सन् २०१९) को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोनाभाइरसको जिवाणुले विश्वलाई चरम निराश बनाइरहेका समय विश्वकै शक्तिशाली भनिएको अमेरिका भने आफ्नै राजनीतिमा लुटुपुटु हुनुबाहेक खासै आशावादी क्रियाकलापमा अग्रसर नबन्दा विश्व समुदायले अमेरिकालाई हेर्ने आँखा फेरिएको छ । चीन र अमेरिका आन्तरिक विवादमा फस्दा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव त परिरहेकै थियो यसमा पनि कोभिड–१९ को उत्पत्तिलाई लिएर अमेरिकी ट्रम्प प्रशासन र चीनबीचको विवाद बाँकी विश्वका लागि अपेक्षा गरिएको विषय पक्कै थिएन । कोभिड–१९ का कारण विश्वव्यापी परेको असरले विश्वको अर्थतन्त्रलाई धराशायी नै बनायो । तर वर्षको अन्त्यमा आइपुग्दासम्म खोप विकासमा देखिएको सफलताले सकारात्मक परिवर्तनको आशा निर्माण गरेको छ ।

Advertisement

सन् २०२० महामारीविरोधी लडाईमा चीनले देखाएको अग्रसरता विश्वका लागि प्रशंसनीय रह्यो । अमेरिकामा कोभिड–१९ को महामारी र राष्ट्रपतीय निर्वाचनले गर्दा उसको ध्यान बाँकी विश्वमा नपुगेको भन्ने भनाइहरू पनि चर्चामा आए । यसैबीच अमेरिका चीन व्यापार विवादका कारण अमेरिकाले चिनियाँ ठूला प्रबिधि कम्पनीहरूमा घोषित तथा अघोषित प्रतिबन्ध लगायो । चीनले पनि बदलामा अमेरिकी सामानहरूको आयातलाई निरूत्साहित ग¥यो । व्यापार विवाद तन्ँिकदै जाँदा कुटनीतिक सम्बन्ध स्थापनापछि दुई मुलुकबीचको सम्बन्ध अत्यन्तै निम्न विन्दुमा पुग्यो । अमेरिकी निर्वाचनपछि नेतृत्व फेरिएसँगै दुई प्रमुख अर्थतन्त्र र सम्पूर्ण विश्वको फाइदाका लागि दुई मुलुकको कुटनीतिक सम्बन्धको विशाल जहाजलाई सही मार्ग दिने समय आएको छ ।

यसले सम्बन्धलाई विना अवरोध अघि बढ्न प्रेरित गर्नेछ । विश्वव्यापी समुदायका लागि नयाँ तथा अकल्पनीय जोखिम र चुनौतीहरु रहेका छन् । विश्वका दुई ठूला देशहरूको रूपमा चीन र संयुक्त राज्य अमेरिकाले कठिनाइहरू पार गर्न, चुनौतीहरूको सामना गर्न र विकासको लागि यी मुलुकले बाँकी विश्वसँग सहकार्य गर्नु आवश्यक छ । कोभिड–१९ को महामारीलाई पराजित गर्न अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयास आवश्यक रहनेछ ।

संयुक्त राज्य अमेरिका र चीन जस्ता बलियो क्षमता भएका देशहरूले अझ बढी जिम्मेवारी वहन गर्नुपर्छ र उदाहरणीय नेतृत्व लिनु पर्छ ।