April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

2.7K

पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छन् । प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि उनले राजिनामा दिएको हुन् ।

अन्तराष्ट्रिय समाचारहरुले उल्लेख गरेअनुसार व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलबार ज्यान गएको थियो । ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको जनाइएको छ ।

पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाइमा ठाउँ नभएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको र यसै क्रममा उनको ज्यान गएको जनाइएको छ । गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको थियो त्यसपछि नवजात शिशुलाई आईसीयूमा भर्ना गरिएको थियो । बच्चा भने जीवितै रहेका र महिलाको ज्यान गएको विषयमा अनुसन्धान थालिएको खबरमा उल्लेख छ ।

Advertisement

विगत केही महिनादेखि आलोचकहरूले पोर्चुगलमा प्रसूति अस्पतालहरूमा कामदारको अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगललाई कोरोना महामारीको ठूलो क्षति कम गर्ने श्रेय पनि उनलाई नै दिइन्छ । तर उनले एक विज्ञप्ति निकालेर आफूले पदमा रहिरहने कुनै कारण नभएको उल्लेख गरेकी छन् ।