काठमाडाैं । पाकिस्तान प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरू गरेको छ। प्रहरी र न्यायपालिकाविरूद्ध धम्की दिएको आरोपमा उनीमाथि छानबिन थालेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्।
शनिबार आयोजित एक कार्यक्रममा खानले प्रहरी र न्यायपालिकाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । अप्रिलमा सत्ताच्यूत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन्।
‘न्यायपालिकाले पनि परिणाम भोग्न तयार हुनुपर्छ। गिललाई हिरासतमा लैजान आदेश दिने न्यायाधीशलाई पनि कारबाही गरिनेछ। यसका लागि तयार हुनुहोस्’, उनले भनेका थिए।
उक्त अभिव्यक्तिको विषयमा खान विरूद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत एफआईआर दर्ता गरिएको थियो।
प्रहरीले इमरानको घर जाने बाटोको सुरक्षा व्यवस्था कडा पारेको छ। यसैबीच उनको पार्टी पीटीआईका उपाध्यक्ष शाह महमूद कुरैशीले सरकारले इमरान खानलाई पक्राउ गर्ने योजना बनाएको बताएका छन्।
उता पाकिस्तानको सञ्चारमाध्यमका नियामक संस्था पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेम्रा) ले इमरान खानको भाषणको प्रत्यक्ष प्रसारणमा रोक लगाएको छ। पेम्राका अनुसार खानले देशको सेना, प्रहरी र न्यायपालिकामाथि लगातार आधारहीन आरोप लगाउँदै घृणा फैलाइरहेका छन। उनले संविधानको धारा १९ को उल्लङ्घन गरेका छन्।
खानलाई राज्य संस्थाहरू विरुद्ध घृणा फैलाउने किसिमको भाषण गरेको आरोप लगाउँदै टीभी च्यानलहरूलाई उनको भाषण प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाएको हो।
सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको पूर्व प्रधानमन्त्री खानको दाबी छ। आइतबार उनले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक र्यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गरेका थिए।