March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

चीनको चेतावनीका बाबजुद् ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी, संसारभरि चासो

2.9K

काठमाडौँ — चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यस भ्रमणलाई पछिल्लो २ दशकभन्दा लामो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको महत्त्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरिएको छ ।

अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले भने सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउदै आएको छ ।

Advertisement

यसैबीच पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो । साथै रुसले पनि उक्त भ्रमणको विरोध जनाएको थियो । पेलोसी मंगलबार रात ताइवान बसेर बुधबार त्यहाँको संसद्‍ भवन पनि पुग्ने तालिका छ ।

चीनमा भने पेलोसीको भ्रमणलाई लिएर सामाजिक सञ्जाल भरिएको छ । मंगलबार अधिकांश चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पेलोसीको भ्रमणबारे टिप्पणी गरेका छन् ।

कतिपयले ताइवानलाई फिर्ता लिनुपर्ने भन्दै चीनलाई आग्रह पनि गरेका छन् । मंगलबार मात्रै चिनियाँ अधिकारीले पेलोसीको भ्रमणलाई लिएर यदि उनी ताइवान पुगे चिनियाँ सेना मुकदर्शक बनेर नबस्ने भन्दै चेतावनी दिएका थिए ।