काठमाडौं– आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणका सन्दर्भमा मलेसिया सरकारले नयाँ नियम लागू गरेको छ।
रोजगारदाताहरुले मलेसियामा कार्यरत आप्रवासी श्रमिकको अनिवार्य रुपमा कोरोना परीक्षण गराउनुपर्ने व्यवस्था लागू गर्ने मलेसिया सरकारले घोषणा गरेको हो।
यो व्यवस्था आउँदो जनवरी १ गतेदेखि लागू हुनेछ। कामदारको कोरोना परीक्षण गर्न आनाकानी गरेमा त्यस्ता रोजगारदाताहरुलाई कारबाही हुनेसमेत घोषणा गरिएको छ। यसअघि पनि मलेसिया सरकारले सबै श्रमिकहरुको कोरोना परीक्षण रोजगारदाताले गर्नुपर्ने उल्लेख गरको थियो। तर रोजगारदाताले आनाकानी गरेपछि यसलाई थप कडाइ गर्न लागिएको हो।
मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार जनवरी १ देखि श्रमिकको कोरोना परीक्षण नगराए रोजगारदातालाई कारबाही गरिने भएको हो।
यो व्यवस्था लागू भएसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकहरु पनि लाभान्वित हुने भएका छन्। यसअघि मलेसियामा रहेका नेपालीहरुले आफूहरुलाई कोरोनाको लक्षण देखिए पनि परीक्षण नहुने तथा कोरोनासंक्रमित र कोरोनाको लक्षण नदेखिएकाहरु सबैैलाई एकै ठाउँमा राख्ने गरेको गुनासो गर्दै आएका थिए। मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक हो। यहाँ करिब ५ लाखको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ।