April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अन्टार्कटिका महादेशसम्म फैलियो कोरोना संक्रमण

2.6K

काठमाडौँ – हालसम्म कोभिड-१९ मुक्त रहिआएको अन्टार्कटिका महादेशमा पनि कोरोना भाइरस पुगेको छ। चिलेको सेनाले अन्टार्कटिका महाद्वीपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको पुष्टि गरेको हो।

संक्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक तथा १० जना मर्मतसम्भार गर्ने कामदार रहेको जनाइएको छ । अधिकारीहरूकाअनुसार संक्रमित सबैलाई उद्धार गरी चिले पुर्याइएको छ। बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको सेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा संक्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशमा आएको हो।

त्यहाँ संक्रमण पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोना भाइरस फैलिन पुगेको छ। सार्गेन्टो एल्डीआ नामक पानी जहाज गत २७ नोभेम्बरमा बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिले फर्केको थियो।

Advertisement

ताल्कावानोस्थित चिलेको सैनिक केन्द्र फर्केका चालक दलका तीनजना सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भयो। चिलेले अन्टार्कटिकामा खडा गरेका चारवटा स्थायी केन्द्रमध्ये बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र एउटा हो जसलाई सेनाले सञ्चालन गरिआएको छ ।