काठमाडाैं । आर्थिक सङ्कटसँग सङ्घर्ष गरिरहेको श्रीलङ्काले धेरै प्रयोग गरिने औषधिहरूको मूल्य ह्वात्तै बढाएको छ। त्यहाँ डेढ महिनाभित्र दोस्रो पटक औषधिको मूल्यवृद्धि भएको हो।
एन्टिबायोटिक, दुखाइ कम गर्ने केही औषधि र मुटुको समस्या भएकाले प्रयोग गर्ने औषधिको मूल्य ४० प्रतिशतसम्मले बढेको छ। श्रीलङ्कालीहरू या त छोटो अवधिका लागि मात्रै औषधि लिन बाध्य छन् या उनीहरूले विदेशबाट हुने आपूर्तिमा भर पर्नुपरेको छ।
सरकारले औषधिको मूल्यवृद्धि गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ। गम्भीर आर्थिक सङ्कट खेपिरहेको बेला देशको ढुकुटीबाट विदेशी मुद्रा रित्तिन थालेपछि सरकारले यस्तो निर्णय लिएको हो।
सरकारले विदेशबाट खाद्यान्न तथा औषधिजस्ता अत्यावश्यक सामग्रीको आयातमा कडाइ गरेको छ वा प्रतिबन्ध लगाएको छ।
श्रीलङ्काका सञ्चारमन्त्री नालक गोदाहेवाले भने “यो सरकारले इच्छापूर्वक यसो गरेको होइन।”
उनका अनुसार श्रीलङ्काली मुद्राको अवमूल्यन भएको र धेरैजसो औषधिहरू निजी क्षेत्रले आयात गर्ने गरेकाले सरकारसँग अरू विकल्प थिएन। त्यसो नगरे औषधिको चरम अभाव हुने उनको भनाइ छ।
स्वास्थ्य अधिकारीहरूले औषधि अभावका कारण बिरामीहरू सिफारिस गरिएकोभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।