नयाँदिल्ली–दिल्लीको सीमा १९ दिनदेखि प्रदर्शन गरिरहेका भारतीय किसानहरुले आज दिल्लीका सबै सीमामा दिनभर अनशन गर्ने भएका छन्। सरकारको प्रस्तावलाई अस्वीकार गरेका उनीहरुले आन्दोलनलाई अझ तिब्रता दिने निर्णय गरेका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा किसान नेताहरुले सोमबार सिन्धु, टिकरी, पलवल, गाजीपुरलगायतका सबै नाकामा अनशन गर्ने जनाएका हुन्। किसान नेता गुरनाम सिंह चिडोनीले बिहान ८ देखि साँझ ५ बजेसम्म अनशन गर्ने जनाए। किसानहरुको धर्ना सबै जिल्ला मुख्यालयमा पनि हुने जनाइएको छ।
किसानहरुले विवादस्पद तीनवटै कृषि कानुन फिर्ता लिन माग गरेका छन्। यसबाहेक न्युनतम समर्थन मूल्य (एमएसपी) ग्यारेन्टी गर्ने कानुन बनाउनुपर्ने, बिजुली विधेयक फिर्ता गर्नुपर्ने र पराल जलाउने विषयमा किसानलाई हुँदै आएको शोषण अन्त्य हुनुपर्ने माग गरेका छन्।
यसैबीच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले किसानको मागलाई समर्थन गरेका छन्। उनले सोमबार समर्थनमा अनशन गर्ने निर्णय गरेका छन्।