April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव

2.7K

वासिङ्टन – ट्रम्प प्रशासनले मंगलबार कंग्रेससमक्ष ९ खर्ब १६ अर्ब डलरको कोभिड–१९ राहत प्याकेज प्रस्ताव प्रस्तुत गरेको छ।

अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको हो। अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति जारी गरी नयाँ प्रस्तावले राज्यहरू र स्थानीय सरकारले गर्ने खर्चसहित व्यवसाय, विद्यालय र विश्वविद्यालयका लागि समेत बजेट व्यवस्था गरिएको जानकारी दिएका छन्‌। उनले नयाँ आर्थिक प्याकेज ल्याउनुअघि कंग्रेसकी सभामुख न्यान्सी पेलोसीसँग परामर्श गरिएको पनि बताए।

अर्थमन्त्री मन्चिनले राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लीकन पार्टीका नेताहरूसँग पनि आर्थिक प्रस्ताव ल्याउनुअघि छलफल गरेको जानकारी दिए। उनले अमेरिकी श्रमिक, परिवार र व्यवसायका लागि अति आवश्यक परेको आर्थिक सहायता उपलब्ध गराउनुपर्ने अहिलेको जटिल स्थितिमा कंग्रेसका दुवै दलबीच समझदारी हुनेमा आफू विश्वस्त रहेको पनि बताए। अर्थमन्त्री मन्चिन र सभामुख पेलोसीबीच आर्थिक प्याकेजका सन्दर्भमा महिनौंदेखि छलफल भएको थियो, तर गत नोभेम्बरको राष्ट्रपति निर्वाचन हुनुअघि कुनै सम्झौता हुन सकेको थिएन।

Advertisement

गत अक्टोबरको शुरूमै डेमोक्रेटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्सले २२ खर्ब डलरको राहत प्याकेज अनुमोदन गरेको थियो। कतिपय सिनेटका सदस्यहरूले भने राहत प्याकेज १० खर्ब डलरभन्दा सानो हुनुपर्ने जिकिर गरेका थिए। ह्वाइट हाउसले अघि सारेको यो नयाँ प्रस्ताव चुनावपछि ट्रम्प प्रशासनको पहिलो कदम हो। नयाँ आर्थिक प्याकेज अभावमा धेरै अमेरिकी नागरिक आफ्नो बेरोजगारी भत्ताबाट विमुख भएका छन्‌।

अमेरिकी चेम्बर अफ कमर्शले अमेरिकी कंग्रेस समक्ष एक पत्र पठाउँदै अर्थपूर्ण राहत प्याकेजको अभावमा दोहोरो अंकको आर्थिक मन्दी छाउने, धेरै साना व्यवसाय सदाका लागि बन्द हुने तथा लाखौं अमेरिकी बेरोजगार हुने चेतावनी दिएको छ।