एजेन्सी – काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पुर्याइएको छ । काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पुर्याइएको सञ्चार माध्यम बीबीसीले बताएको छ ।
डेलावेयरको डोभर एयर फोर्स बेसमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सहभागी भएका थिए । उनले मृतक सैनिकहरुलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि भएको विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको मृत्यु भएपछि बाइडेनले बदला लिने चेतावनी दिएका थिए । उनले इस्लामिक स्टेटबाट सो आक्रमण भएको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।