काठमाडौं- नाइजरमा भएको आतंकवादी आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ जना बालबालिका र चार जना महिला रहेका अधिकारीहरूले जानकारी दिएका छन् । घटना देशको तिल्लाबेरी क्षेत्रमा भएको हो । हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको समूहले उक्त आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बालबालिकासहित माथि भएको आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले कडा आपत्ति जनाएको छ । युद्धसँग असम्बन्धित र हतियारविहीन मानिसमाथि अनाहकमा आक्रमण हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ ।
तिल्लाबेरीमा यो वर्ष सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ । यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण देखिएको युनिसेफले जनाएको छ ।
युनिसेफलगायत अन्य विभिन्न निकायहरूले बालबालिकासहित सबै मानिसको सुरक्षाका लागि पटकपटक आह्वान गरेका छन् । विषेश गरेर बालबालिका र महिलाको सुरक्षाको विषय अझ संवेदनशील भएकाले त्यसतर्फ सबै तत्काल संवेदनशील हुनुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरूले अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता, मानव अधिकारलगायतका विषयको ख्याल गर्न पनि आक्रमणकारीहरूलाई आग्रह गरेका छन् । ‘बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो । यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ,’ युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ । एजेन्सी