काबुल- तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि आइतबार देशै छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति असरफ गानीले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई सम्बोधन गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘राजधानी काबुल छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ ।’ यदि आफूले देश नछाडेको भए काबुलमा तालिबानसँग झडप हुने र लाखौं नागरिकको जिन्दगी खतरामा पर्ने उनले उल्लेख गरेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘आइतबार म निकै कठिन अवस्थामा परेको थिएँ ।
सशस्त्र तालिबानका लडाकु राष्ट्रपति भवनमा छिर्न चाहन्थे, उनीहरूको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक जसको सुरक्षाका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पिएको छ, त्यसलाई छाडौं ।’ तर आफू नभागेको भए युद्धमा लाखौं नागरिक मरेको र काबुलमा ठूलो आतंक मच्चिएको हेर्नुपर्ने स्थिति आउने उनले बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘तरबार र बन्दुकको बलबाट तालिबानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको ज्यान उनीहरूको जिम्मामा छ ।’ तर उनले आफू कहाँ छु भन्ने कुरा फेसबुकमा लेखेका छैनन् ।
पूर्व राष्ट्रपति कारजाईले भने–देश छाड्दिनँ
अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै एकखाले आतंकको अवस्था सिर्जना भएको छ । तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल पूरै अमेरिकी र नेटो सैनिकको नियन्त्रणमा छ ।
मुलुकको नेतृत्व गरिरहेका राष्ट्रपति असरफ घानी नै देश छाडेर भागेपछि सर्वसाधारणमा आतंकको अवस्था सिर्जना भएको हो । देश छाडेर भागेका घानीले राजधानी काबुलमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले मुलुक छाड्ने निर्णय गरेको सफाई दिएका छन् ।
यसैबीच पूर्व राष्ट्रपति हमिद कारजाईले भने आफूले देश नछाड्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू राजधानी काबुलमै रहने प्रष्ट गरेका छन् ।
आफ्ना तीन छोरीका साथ देखिएका कारजाईले भनेका छन्, उनको परिवार ‘प्यारा काबुलवासी’ का साथ छन् । मुलुक र देशवासीको रक्षाको जिम्मेवारी तालिबानको काँधमा आएकाले त्यसलाई होशियारीपूर्वक निभाउन कारजाईले भनेका छन् । उनले तालिबान र सरकारी सुरक्षाकर्मीहरुलाई नागरिकको जीउधनको सुरक्षाका लागि अपील पनि गरेका छन् । अमेरिकी सैन्य हस्तक्षेपपछि सन् २००१ मा देशको राष्ट्रपति बनेका कारजाई सन् २०१४ सम्म अफगानिस्तानको राष्ट्रपनि बनेका थिए । उनी एशियामै सबैभन्दा बढी समय शीर्ष पदमा रहने नेता समेत बनेका थिए ।