काबुल- अफगानिस्तानको विद्रोही समूह तालिबानले काबुल घेरेर ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण कुरिरहेको’ बताएको छ ।
हालसम्म अफगानिस्तानका सबैजसो प्रान्त तालिबानको नियन्त्रणमा पुगिसकेको छ भने काबुल तालिबानको चौतर्फी घेराबन्दीमा परेको छ ।
यसैबीच, अफगानी राष्ट्रपति असरफ गनीले अमेरिकी विशेष दूत जाल्मे खालिजादसँग आकस्मिक वार्ता गरिरहेको बीबीसीले जनाएको छ ।
हिजो मात्रै राजीनामा नदिने बताएका गनीले उत्तर एटलान्टिक सैन्य संगठन नेटोका अधिकारीसँग पनि वार्ता गरिरहेका छन् ।
उता कार्यवाहक अफगानी गृहमन्त्रीले एक भिडिओ सन्देशमार्फत संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उता अफगानी सरकार र तालिबानी प्रतिनिधिबीच पनि वार्ता चलिरहेको बताइएको छ । तालिबानले काबुलमा हिंसा नमच्चाउने बताएको छ । एजेन्सी