April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डब्ल्यूएचओको कोरोना उत्पत्तिबारे अध्ययन गर्ने योजना स्वीकार गर्न सकिँदैन : चीन

2.9K

काठमाडाैं- कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अध्ययनको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बनाएको योजना चीनले अस्वीकार गरेको छ। 

चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएर मानिसमा फैलिएको हुनसक्ने ‘हाइपोथेसिस’ सहितको अनुसन्धान गर्न डब्लुएचओले लागि प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्ताव चीनले अस्वीकार गरेकाे हाे।

केही विज्ञ तथा गुप्तचर सूचनाहरुले उहानस्थित प्रयोगशालबाट भाइरस चुहावट भएको हुनसक्ने आशंका गरेका छन्। त्यसैले विश्वभरबाट पारदर्शी अध्ययनको माग भइरहेको छ। जसका कारण डब्ल्यूएचओमाथि पनि दबाब बढ्दै गएको छ।

Advertisement

डब्ल्यूएचओले यसै महिना चीनका प्रयोगशालाहरुको विवरण र उहान सहरको अध्ययनको योजना प्रस्तुत गरेको थियो। साथै उसले चिनियाँ अधिकारीहरुलाई डेटाको मामिलामा थप पारदर्शी बन्न आग्रह गरेको थियो।

उहानमा सन् २०१९ को अन्तिममा देखिएको कोरोना भाइरसको महामारी झण्डै दुई वर्षदेखि विश्वभर फैलिरहेको छ।

अहिलेसम्मका अध्ययनहरुले उहानस्थित समुद्री जीवको मासु बजारबाट मानिसमा संक्रमण फैलिएको देखिने उल्लेख गरेका छन्।

नेशनल हेल्थ कमिसन (एनएचसी)का उपमन्त्री जेङ यिसिनका अनुसार डब्लुएचओको योजनामा चीनले प्रयोगशाला सम्बन्धी नियम उल्लंघन गरेको हुन सक्ने ‘हाइपोथेसिस’ राखिएको र त्यो विज्ञानको सामान्य अवधारणा विपरित रहेकाले अस्वीकार गरिएको हो।

‘हामी त्यस किसिमको उत्पत्ति पत्ता लगाउने योजनालाई स्वीकार गर्दैनौं, जसको केही पक्षमा सामान्य बुझाइ र विज्ञानलाई पनि नमान्ने देखिएको छ। अध्ययनको क्रममा भाइरस चुहावट भएको हुनसक्ने हाइपोथेसिस वस्तुपरक छैन र त्यो हुनै सक्दैन। यस्तै, गोपनीयताको  कारण पनि सबै विवरणहरु दिन सकिँदैन’, उनले भने। 

चीनले कोरोना भाइरसको उत्पति कसरी र कहाँबाट भएको हो भन्ने सम्बन्धी अध्ययन विज्ञानमा आधारित भएमा आफूहरुको पूर्ण समर्थन रहेन बताएकाे छ। तर, यस अध्ययनलाई राजनीतिक बनाउनु नहुने उसकाे भनाइ छ।