April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पूर्व राष्ट्रपति जुमालाई जेल हालिएपछि दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन र लुटपाट, ७२ जनाको मृत्यु

2.3K

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई जेल पठाइएपछि सुरु भएको हिंसात्मक विरोध प्रदर्शनमा अहिलेसम्म कम्तिमा ७२ जनाको मृत्यु भएको छ।

विभिन्न सहरहरुमा लुटपाट मच्चिएको छ। सोवेटोको शपिङ सेन्टरमा सोमबार राति लुटपाटको समयमा भगदौड हुँदा १० जनाको मृत्यु भएको छ। 

सरकारले लुटपाट र हिंसात्मक प्रदर्शनलाई रोक्न सेना परिचालन गरेपनि हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहेको छ। राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन्।

Advertisement

दक्षिण अफ्रिकी प्रहरीले हिंसा भड्काउने १२ व्यक्तिको पहिचान गरेको र १ हजार २ सय ४ जना पक्राउ परेको जनाएको छ। 

स्थानीय समय अनुसार बुधवार अबेर जुमा आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले जनाएको छ। दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्वराष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो।

अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो। तर, उनको पक्राउसँगै समर्थकहरूले विभिन्न स्थानमा ताेडफेाड गरेका छन्। 

प्रहरीका अनुसार जुमाकाे समर्थकहरुले मच्चाएकाे अशान्तिकाे फाइदा उठाउँदै केही अपराधिक समूहले लुटपाट गरिरहेका छन्।