April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

“भाडाका विदेशी हमलाकारीले मेरा श्रीमान्‌लाई गोलीले क्षतविक्षत बनाए।”: हेइटीका हत्या गरिएका राष्ट्रपतिकी श्रीमती

2.8K

निजी निवासमा हत्या गरिएका हेइटीका राष्ट्रपति जोभनेल मोइजकी श्रीमतीले भाडाका सैनिकहरू प्रयोग गरेर राजनीतिक शत्रुहरूले उनको ज्यान लिएको बताएकी छन्।

उनले आफ्ना श्रीमान्‌ले अघि बढाएको संवैधानिक सुधार र जीवनस्तर उकास्ने प्रयासलाई रोक्न त्यस्तो गरिएको बताइन्।

सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै उनले हेइटीका मानिसहरूलाई लडिरहन आग्रह गर्दै आफूसाथमा उभिने प्रतिबद्धता जनाएकी छन्।

Advertisement

बुधवार सबेरै बन्दुकधारीहरूले राष्ट्रपतिको कार्यालयमा आक्रमण गर्दा मार्टीन मोइज पनि घाइते भएकी थिइन्।

उनलाई उद्धार गरेर उपचारका लागि अमेरिकाको मायामी लगिएको छ।

राष्ट्रपति मोइजको हत्याले हेइटीमा सत्ताको नेतृत्वलाई लिएर विवाद निम्त्याएको छ।

राष्ट्रपतीय निर्वाचन र देशको नयाँ संविधान लेख्ने विषयलाई लिएर सेप्टेम्बर महिनामा जनमतसङ्ग्रह आह्वान गरिएको छ।

प्रथम महिला मोजेले आक्रमण एकदमै द्रुत हिसाबले गरिएका हुनाले आफ्ना श्रीमान् जोभनेलले ‘एक शब्द पनि उच्चारण गर्न नसकेको’ बताइन्।

जुलाई ७ मा भएको २८ जना विदेशी भाडाका हमलाकारीहरूले गरेको भनिएको आक्रमणमा राष्ट्रपति मोइज मारिएका थिए।

ट्विटरमा श्रीमती मोइजले राखेको अडिओ सन्देशमा भनिएको छ, “आँखा झिमिक्क गर्न नपाउँदै भाडाका विदेशी हमलाकारी मेरो घरमा प्रवेश गरे र मेरा श्रीमान्‌लाई गोलीले क्षतविक्षत बनाए।”

“यो घटनाको कुनै नाम छैन किनभने जोभनेल मोइज जस्ता राष्ट्रपतिलाई एक शब्द पनि बोल्न नदिइकन त्यसरी हत्या गर्ने सीमाविहीन खालको अपराधी हुनुपर्छ।”

उनले राष्ट्रपतिको सपना चकनाचुर पार्न हत्या गरिएको भन्दै आफ्नो श्रीमान्‌को रगतलाई खेर जान नदिने बताइन्।

५३ वर्षका मोइज सन् २०१७ देखि अमेरिकाको सबैभन्दा गरिबमध्येको देश हेइटीका राष्ट्रपति थिए।

हेइटीको प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ पर्नेमध्ये अधिकांश कोलम्बियाका नागरिक रहेको जनाएको छ

भ्रष्टाचारको आरोपको सामना गर्नु परेको र राजधानीसहित देशका विभिन्न सहरहरूमा यसै वर्षको सुरुमा प्रदर्शनहरू भइरहेकाले उनको कार्यकाल विवादमुक्त भने थिएन।

सन् २०१९ को अक्टोबरमा नै चुनाव गर्नुपर्ने भएपनि विवादहरूका कारण त्यसमा विलम्ब भइरहेको थियो र उनले उर्दीका भरमा शासन चलाइरहेका थिए।

प्रस्तावित संवैधानिक परिवर्तनका लागि उनले सेप्टेम्बरमा जनमतसङ्ग्रह गराउने योजना गरेका थिए।BBC