March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

मुम्बई जलमग्न, केही घन्टा भीषण वर्षाको चेतावनी

2.2K

भारत– भारतीय मौसम विभागले आगामी केही घन्टाका लागि मुम्बईमा भीषण वर्षाको चेतावनी दिएको छ। मौसम विभागका अनुसार पानीसँगै तीव्रगतिमा हावा पनि चल्नेछ।

आगामी केही घन्टाका लागि ‘टोक्टे’ चक्रवातको केन्द्र मुम्बईबाट १६० किलोमिटर पर समुन्द्रमा हुने बताइएको छ। यस चक्रवातको प्रभावले रायगढ, पालघर, मुम्बई, ठाणे तथा रत्नागिरीमा तिव्रगतिमा हावा चलिरहेको छ भने पानी पनि परिरहेको छ। जसका कारण मुम्बई जलमग्न भएको छ।

मुम्बई हाई आयल फिल्डको नजिक एक सानो जहाजमा २३७ जना मानिस फसिरहेका छन् भने अर्को जहाजमा १३७ जना फसेका छन्। फसेका मानिसलाई बचाउनका लागि नौसेनाको युद्धपोत आइएनएस कोच्चि र आइएनएस कोलकत्ताका लागि निस्किएका छन्। 

Advertisement

मुम्बईको छत्रपति शिवाजी महाराज विमानस्थल हावाहुण्डरीका कारण बन्द गर्नु परेको थियो। सोमबार बिहान ११ बजेबाट ४ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। 

तीव्र बेगको आँधीका कारण प्रभावित क्षेत्रका कैयौं रूख ढलेका छन्। मुम्बईमा मात्र १३२ रूख ढलेका छन्। जसले सवारीसाधनमा क्षति पुगेको समाचारहरु सार्वजनिक भएका छन्।

गुजरातमा आज राति ८ बजेदेखि ११ बजेबीच पोरंबदर र महुवामा हावाहूरीको प्रभाव रहेने भन्दै अलर्ट जारी गरिएको छ।