हङकङ । किरात राई यायोखा हङकङले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यही मे ३ तारिख हङकङ आउने जनाएको छ । जोर्डनमा रहेको जी फिफ्टी रेस्टुरेन्टको सभाकक्षमा पत्रकार भेटघाट गरी यायोक्खाका अध्यक्ष गजेन्द्र बहादुर राईले सो कुरा बताएका हुन् ।
सुनसरी जिल्लाको धरान उनपा–२० स्थित चिण्डेडाँडामा निर्माण गरिने भनिएको किराती संस्कृतिका आदिम पुर्खा सुम्निमा–पारुहाङको प्रतिमाका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले मेयर साम्पाङ आउने बताइएको छ ।
उक्त कार्यका लागि मूल आयोजक किरात राई यायोक्खा रहेको र यायोक्खाले मूल संयोजकमा किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राईलाई नियुक्त गरेको छ। त्यसैगरी सहआयोजकहरूमा किरात राई चाम्लिङ खाम्बातिम, दुमी फन्सिकिम, साम्पाङ जुम्लेखा, पुमा तुप्खाबाङ्खाला, बान्तावाखिम, थुलुङ (राई )सामा, सोदेल कोयी/कोयू किम र बायुङ सुम्निखिम रहेका छन् ।
मे ३ तारिख हङकङ आएर ९ तारिख नेपाल फर्कने मेयर साम्पाङको अति व्यस्त कार्यतालिका प्रस्तुत गर्दै मूल संयोजक शशिमदन राईले मे ३ र ४ तारिख सम्पन्न हुने ’नेपाल फेस्ट २०२५’ मा प्रमुख आतिथ्यता रहने बताए ।
हङकङ्गेली नेपालीहरूको बहुसांस्कृतिक सम्पदाको उत्सव भनेर सम्बोधन गरिएको उक्त ’नेपाल फेस्ट’मा ७० भन्दा बढी कलाकारहरूको सांगीतिक प्रस्तुति रहनुकासाथै विभिन्न जातिहरूको सांस्कृतिक झाँकी र खानपानसमेत प्रदर्शनी गरिने उल्लेख गरिएको छ ।
मेयर साम्पाङ हङकङ आगमन टिमको मूल प्रायोजक समेत रहेको ‘एस अफ स्पेड्स इन्टरटेनमेन्ट कम्पनी’ले आयोजना गरेको उक्त ‘नेपाल फेस्ट’ ए एक्स ए वन्डरल्याण्ड, वयष्ट काउलुनमा सम्पन्न हुनेछ ।
आर्थिक सहयोग संकलनको मुख्य अपेक्षा राखेर आउने मेयर साम्पाङको इन्डिया क्लव, ब्लू ओसन रेस्टुरेन्न्ट र याक एन्ड यति रेस्टुरेन्ट जस्ता ठूला भेन्यूहरूमा मिट एण्ड ग्रिड कार्यक्रम राखिएको छ । सोही बेला सहयोग रकम बुझाउन वा बोलकोबोल गर्न पनि अनुरोध गरिएको छ । कार्यक्रममा सहभागी हुन र सहयोग रकमको फारम भर्नका निम्ति आयोजकले उपलब्ध गराएको ’क्युआर कोड स्क्यान गरेर प्रयोग गर्न सकिने’ पनि भनिएको छ। त्यसरी जम्मा भएको सहयोग रकम ’किरात राई यायोक्खा हङकङको बैंक खातामा राखिने र लिगल रुपमा मात्रै नेपाल पठाइने’ बताइएको छ । ’बोलकबोल गरेको रकम छ महिना अर्थात् ३१ अक्टोबरभित्र बुझाउनु पर्ने’ पनि आयोजकले भनेको छ।
मेयर साम्पाङ अन्य केही संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रमहरूमा पनि उपस्थित हुने र बाँकी समय यहाँका पुरातात्विक ऐतिहासिक तथा श्रम र विज्ञानले निर्माण गरेका पर्यटकीय ठाउँहरूको अवलोकनका निम्ति भ्रमण गराइने पनि आयोजकले जनाएको छ ।