इस्लामाबाद- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन्।
प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौंसम्म भिडन्त भएको थियो। घटनास्थलमा प्रहरी पुग्दा दुवै समूहका हतियारधारी व्यक्तिहरुले एक अर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ।
प्रहरीले शवहरु बरामद गर्नुका साथै घाइतेहरुलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ। स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताएका छन्।