March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

इजरायलले गरेको हवाई आक्रमणमा आठ बालबालिका र दुई महिलाको मृत्यु

3.6K

काठमाडाैं‌- इजरायलले गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ। शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गरेकाे हवाई आक्रमणमा मारिएकाहरुमा अधिकांश बालबालिका छन्।

एउटा हवाई हमलामा गाजाको एक तीनतले घर भत्किएको र त्यहाँ रहेका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको रेडक्रसले जनाएको छ।  

‘इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो। ११ वर्षको एउटा बच्चा हराइरहेको छ। एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ,’ मोहम्मद अबु हताबले संवाददाताहरुलाई भने।

Advertisement

गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा स्थल आक्रमण जारी राखेको छ। गाजामा इजरायल र हमास लडाकू बीचको युद्ध रोक्न र युद्धबिराम गराउन प्रयास जारी छन्। 

पछिल्लो पटकको हिंसा जेरुसेलमबाट शुरु भएको थियो र यो अहिले गाजा क्षेत्रका साथै इजरायली भूमिमा बसोबास गर्ने अरब समुदायसम्म फैलिएको छ। अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु जारी छन्।

शुक्रबार इजरायल अधिनस्थ पश्चिमी किनारामा पनि प्यालेस्टिनी समुदायले इजरायल विरोधी प्रदर्शन गरेका थिए। त्यहाँ पनि इजरायली सेनाले गरेको कारबाहीमा ११ जना सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो। 

सोमबार रातिदेखि यता हमासले इजरायली भूमितर्फ सयौं क्षेप्यास्त्र प्रहार गरेको छ। बदलामा इजरायलले गाजापट्टीमा गरेको भिषण सैन्य कारबाहीमा कम्तीमा १२६ जनाको मृत्यु भइसकेको छ जसमा ३१ जना बालबालिका र २० जना महिला रहेका छन्। उता इजरायलतर्फ भने ६ वर्षीय एक बालक र एक सैनिकसमेत सात जनाको ज्यान गएको छ। 

हमास र इस्लामिक जिहाद समूहले आफ्ना २० जना लडाकू मारिएको बताएको छ। तर इजरायली सेनाले त्योभन्दा ठूलो संख्यामा लडाकूहरु मारिएको दाबी गरेको छ।