April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

म्यान्मार सैन्य ‘कू’को विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर १८ आन्दोलनकारीको मृत्यु

२०७७ फाल्गुन १७

2.3K

एजेन्सी-  म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर  १८ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन भएकाे बताएको छ।

आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो। ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको बिबीसीले जनाएको छ। सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका थिए।

फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्। आङ सान सूकी लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ।

Advertisement

सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ। सैनिक ‘कू’ का नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै संकेत नदेखिएपछि प्रहरी कारबाही आइतवार विस्तार गरिएको हो।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ। उसले आइतबारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ। प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन्। तर त्यसबारे पुष्टि गरिएको छैन।