डेनमार्क- समुद्री वायुबाट विद्युत निकाल्न गरेको पहिलो प्रयोग सफल भएपछि डेनमार्कले त्यस्तै प्रकृतिको अर्को एउटा महत्वाकांक्षी परियोजना व्यावसायिक रुपमै निर्माणको तयारी थालेको छ।
डेनमार्कको इतिहासमा हालसम्मकै ठूलो लगानी रहेको भनिएको यो परियोजनाले ३० लाख परिवारका लागि स्वच्छ उर्जा उत्पादन गर्ने जनाइएको छ।
समुद्रको बीचमा कृत्रिम टापु बनाउने र हावाबाट चल्ने टर्वाइन राखेर विद्युत उत्पादन गर्ने यो अवधारणा विश्वका लागि नै नौलो हो।
‘हब एन्ड स्पोक इनर्जी’ नाम दिइएको यो परियोजनाको लागत ३४ बिलियन अमेरिकी डलर बराबर रहनेछ। यो डेनमार्कको इतिहासमै सबैभन्दा ठूलो धनराशीको परियोजना हो।
सयौं संख्यामा टर्वाइनहरु राख्न मिल्ने गरी समुद्री क्षेत्रमा मानव निर्मित उर्जा टापु (इनर्जी आइल्यान्ड) बनाउने र बेग्लाबेग्लै टबाईनहरुबाट उत्पादन हुने विद्युतलाई एउटै लाइनमा जोड्ने डेनमार्क सरकारको योजना छ।
समुद्रको बीचमा बन्ने कृत्रिम टापु १८ वटा फुटबल मैदान जति क्षेत्रफलको हुनेछ। विद्युत उत्पादनका लागि हावाबाट चल्ने ६ सय वटा टर्वाइनहरु राखिनेछन् भने त्यस्ता टर्वाइनहरु २६० मिटरसम्म अग्ला हुनेछन्।
डेनमार्कको उत्तरी समुद्री तटीय क्षेत्रमा बन्ने यस्ता कृत्रिम उर्जा टापुहरु निर्माण तथा त्यहाँ हुने टर्बाइन जडानलगायतको काममा युरोपियन युनियनले यो परियोजनामा सहयोग गरिरहेको छ।