काठमाडौं – चीनमा ‘एक बच्चा’ नीतिले छोटो समयमै जन्मदर घटाउनमा निकै भूमिका खेल्यो । तर, उक्त नीतिको अन्त्य गरेको ४ वर्षसम्म पनि चीनमा जन्मदर नबढ्दा चिन्ता थपिएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दशकौंसम्म अर्थतन्त्रको विकासका लागि भन्दै जन्मदरमा गरिएको कडा नियम आफैंका लागि घातक बन्न थालेको छ । पछिल्लो समय जन्मदर नबढेसँगै आर्थिक प्रगति र सामाजिक स्थिरताका लागि ठूलो खतरा हुनसक्ने भन्दै चिन्ता थपिएको हो ।
जन्मदर बढाउन अनुसन्धान गर्ने तयारी
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले घटेको जनसंख्यालाई बढाउनेबारे अनुसन्धान गर्ने भएको छ । आयोगले मुख्य तीन प्रान्त लिओनिंग, जिलिन र हेइलोंगजियांग क्षेत्रमा जनसंख्या बृद्धिबारे अध्ययन गर्ने भएको हो ।
सञ्चार माध्यमको रिपोर्टअनुसार पछिल्लो दशकमा अत्याधिक रुपमा घटेको जनसंख्याका तीन प्रान्तका औद्योगिक विकासमा नै समस्या देखिएको छ । उद्योगहरुमा आवश्यक जनशक्तिको अभाव अत्याधिक हुन थालेको जनाइएको छ ।