
हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी (महिला फोरम) र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाइएको छ। हङकङको जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टमा आयोजित समारोहमा कोशी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा प्रमुख वक्ताका रूपमा आमन्त्रित थिइन्।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईको अध्यक्षता र नेपाली महावाणिज्य दूत डा. बिन्देश्वर प्रसाद लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। उपाध्यक्ष कविता गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने महिला फोरमकी संयोजक सत्या गहत्राजले सञ्चालन गरेकी थिइन्।


विशेष अतिथिका रूपमा एनआरएनए आइसिसी महिला उपाध्यक्ष राधिका (टिका) गुरुङ, याउ चिङ मोङ डिस्ट्रिक डिएवी पार्टी चियरम्यान तथा बीबीएस, एमएच बेनी याङ, याउ चिङ मङ डिस्ट्रिक काउन्सिलरद्वय हेउड क्वान र अरुणा गुरुङ, महिला आयोग एचकेसारी सदस्य रिता गुरुङ रहेका थिए। वाणिज्य दूत सतिश गुरुङ, पर्यटन प्रवर्धक प्रकाश पुन, हङकङ नेपाली महासङ्घका अध्यक्ष नवीन सुहाङ, एनआरएनए मकाउ सारकी निवर्तमान महिला उपाध्यक्ष बिन्दु सुनुवार राई, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघकी अध्यक्ष सोयेना ढकाल, एनआरएनए हङकङका निवर्तमान अध्यक्ष गोकर्ण ढकाल, नेपाल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधि कृष्ण पाण्डे, नेप्लिज एसोसिएसन हङकङका अध्यक्ष प्रदीप थापा, नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार कुलप्रसाद गुरुङ, हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजक जुनू राना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


नेपाल र चीनको राष्ट्रिय गीतसँगै अध्यक्ष अनु राई, प्रमुख अतिथि डा. लेखक र मन्त्री चेम्जोङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे। उद्घाटनका क्रममा पटाकाको आकाशबाजी पनि गरिएको थियो। हङकङेली नेपाली कलाकार सरला गुरुङ, पवित्रा साम्पाङ र रोसा लिम्बुले राष्ट्रिय भावनाका गीत प्रस्तुत गरी कार्यक्रमको रौनक थपे।
समारोहको दोस्रो चरणमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका नारी व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो। हङकङकी बालिका बान्तवा (साहित्य), अञ्जला राई (सगरमाथा आरोहण), सुम्निमा रानी कन्दङ्वा (पत्रकारिता), दिलकुमारी लिम्बू (खेलकुद), डा. सुप्रभा महरा (स्वास्थ्य) र जयन्ती राई (समाज सेवा) लाई विशेष पुरस्कार प्रदान गरियो।


यसैगरी, राधिका (टिका) गुरुङ र करुणा श्रेष्ठलाई बधाई पत्र, नयाँ पुस्ताकी सक्रिय युवा नेतृत्वको रूपमा सोयेना ढकाललाई प्रशंसापत्र प्रदान गरियो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ र नेपाल चेम्बर अफ कमर्स, हङकङलाई पनि प्रशंसापत्र दिइयो।
सहआयोजकहरू नमो: बुद्ध धर्म केन्द्र, तमु संघ (महिला शाखा), आङ्गी समुह, तामाङ घेदुङ, किरात राई चाम्लिङ खम्बातिम (महिला विभाग) र मगर संघ (महिला विभाग) हङकङलाई समेत प्रशंसापत्रले सम्मानित गरियो। गायिका सरला गुरुङ, पवित्रा साम्पाङ र रोसा लिम्बुले पनि प्रशंसापत्र प्राप्त गरेका थिए।
शुभकामना मन्तव्य राख्दै अतिथिहरूले महिला सशक्तिकरण, नेतृत्व विकास र एकताका लागि जोड दिए।


प्रमुख अतिथि महावाणिज्य दूत डा. बिन्देश्वर प्रसाद लेखकले अन्तर्राष्ट्रिय नारी दिवसको ऐतिहासिक पक्ष उजागर गर्दै हङकङमा रहेका करिब ३० हजार नेपालीबीच नेपाली महिलाले विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गरे। साथै, नेपाल सरकारको तर्फबाट आफूले गर्न सक्ने हरेक काममा तत्पर रहेको उनले बताए।
प्रमुख वक्ता राज्यमन्त्री शोभा चेम्जोङले नेपालको संविधानले महिलालाई अधिकारको प्रत्याभूति गराए पनि हरेक तह र तप्कामा पुरुषप्रधान पुरातन संस्कृति नै हावी रहेको जिकिर गरिन्। उनले नारीलाई मुख्य तह र तप्कामा स्थान दिन राजनीतिक शक्तिहरूले ध्यान दिनुपर्ने बताउँदै यसकालागि नारीहरू आफैं पनि हिम्मतकासाथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन्।


उक्ता कार्यक्रममा नेपालकी मन्त्री चेम्जोङलाई विशेष सम्मानसहित मायाको छिनो प्रदान गरिएको थियो भने स्थानीय नेता बेनी याङ र हेउड क्वानलाई नेपाली ढाका टोपीले सम्मान गरिएको थियो।
सो कार्यक्रमको समापनमा बोल्दै आयोजक एनआरएनए हङकङकी अध्यक्ष अनु राईले आफ्नो हैसियत र क्षमताले भ्याएसम्म नेपाली नारीहरूको हितकालागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
हङकङमा रहेका नेपाली महिलाको उपस्थिति, सक्रियता र एकताको रुप झल्किएको उक्त समारोह भव्य रूपमा सम्पन्न भएको थियो।


फोटो: जगत अम्बु गुरुङ, Focus out/hknepal.com
