July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

हङकङमा ‘याक्थुङ साप्मुन्धुम’ लोकार्पण

बज्रकुमार थुलुङ
२०८२ असार ३१

910

तेह्रथुमको मेयङ्लुङस्थित सिंहबाहिनी विद्यालयका ८७ वर्षीय पूर्व प्रधानाध्यापक लिलाबहादुर तुम्बाहाङ्फेकृत ऐतिहासिक पुस्तक ‘याक्थुङ साप्मुन्धुम’ हङकङमा लोकार्पण गरिएको छ ।

हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक रानाको बिशेष संयोजन र तुम्बाहाङ्फे सयङ हङकङको आयोजनामा भएको सो कार्यक्रम हङकङ–मकाउ सारका नेपाली महावाणिज्यदूत बिन्देश्वर प्रसाद लेखकको प्रमुख आतिथ्यतामा भएको थियो ।

तुम्बाहाङ्फे सयङका अध्यक्ष संजय तुम्बाहाङ्फेको अध्यक्षता र सुपरिचित चलचित्र निर्देशक तथा कलाकार मौसम ईम्बुङ लिम्बु (फुलन्देको बाउ) को सञ्चालनमा भएको उक्त कार्यक्रममा याउ चिं मोङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, हङकङ नेपाली महासङ्घकी अध्यक्ष रिता गुरुङ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजक जुनू राना, कृति चिल्ड्रेन सेन्टरकी निर्देशक पुष्पा गुरुङ (गुरुआमा), मुन्धुम अध्ययन प्रतिष्ठानका प्रमुख तथा अग्रज साहित्यकार भूपेन्द्र चेम्जोङ,तेक्वान्दोमा नवौँ डान (डिग्री) उत्तीर्ण गर्ने पहिलो नेपाली तुल्सीकुमार गुरुङ ,आयोजक संस्था सयङका सल्लाहकार शमशेर तुम्बाहाङ्फेलगायतका प्रतिष्ठित व्यक्तित्वहरू विशेष अतिथि रहेका थिए। जोर्डनमा रहेको ब्लु ओसन रेस्टुरेन्टको सभाकक्षमा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति बीच गरिएको उक्त लोकार्पण समारोहमा नेपाल चेम्बर अफ कमर्स हङकङका सल्लाहकार तथा व्यवसायी दासुराम पराजुली, लिङ्मा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका डाइरेक्टर माया( चन्द्रका)थुलुङ राई, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय समितिकी महिला सचिव टिका गुरुङ,गैरआवासीय नेपाली संघ हङकङकी उपाध्यक्ष अनु राई, तामाङ घेदुङ सङ्घकी अध्यक्ष अनिता पाख्रिन,एकीकृत नेपाली समाज(हिन्स)का डाइरेक्टर विनय शाह,नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष शैलेन्द्र सिंह बोगटी, उपाध्यक्ष ताहिर खान ,सल्लाहकार बसन्त श्रीनेत, मिन गुरुङ,सन्तोष घले,देवराजन गुरुङ, नेपाली जनसम्पर्क समिति हङकङका पदाधिकारीहरू, धरान–१७ समाजका अध्यक्ष मधुकुमार चाम्लिङ,याक्थुङ आर्टिस्ट सोसाइटीका श्याम इङ्नाम,याक्थुङ चुम्लुङका पूर्वाध्यक्ष असली वनेम, लिम्बु समुदायका व्यक्तित्वहरु, नेपाल एयरलाइन्स हङकङका स्टेसन म्यानेजर विजय अधिकारी,व्यवसायी प्रविण काङमाङ,विभिन्न संघसंस्था तथा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलगायत सुपरिचित लेखक कमल पौडेल,साहित्यकार तथा सञ्चारकर्मी टंक सम्बाहाम्फे, प्रदिप कन्दङवा, दाजु गुरुङ,भविन लिम्बु, चर्चित उपन्यास ‘प्याउली’ की सर्जक बालिका बान्तवा,सीला घमाल आदी अतिथिमा आमन्त्रित थिए ।

Advertisement

नेपाल, चीन र हङकङको राष्ट्रिय झण्डा राखेर गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लेखकले पानसमा बत्ती बालेर गरेका थिए भने नेपाली राष्ट्रिय गीत पनि बजाइएको थियो ।

छोटो रूपमा सम्पन्न गरिएको सो कार्यक्रममा जुनू राना, कमल पौडेल, टंक राना,शम्शेर तुम्बाहाङ्फे, प्रकाशक भावना तुम्बाहाङ्फेलगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए भने मुन्धुमविद तथा साहित्यकार भूपेन्द्र चेम्जोङले पुस्तकबारे समीक्षात्मक मन्तव्य राखेका थिए। ’याक्थुङ साप्मुन्धुम’ लिम्बु र लिम्बुवान इतिहासबारे वर्षौं खोज, अध्ययन र अनुसन्धान गरी लेखिएको ऐतिहासिक दस्तावेज भएकोले आफूले केही क्षणको अध्ययनबाट समीक्षा गर्न नसक्ने’ समीक्षकको भूमिकामा रहेका भूपेन्द्र चेम्जोङको भनाई थियो ।

त्यसैगरी, पुस्तक लेखनको सन्दर्भमा बोल्दै ’यो पुस्तक लेख्नमा थुप्रै कुराहरू भएपनि इटालीका विद्वान ज्यूसब मेजिनीको जीवनी र उनको प्रेरणाबाट प्रभावित भएर यो पुस्तक लेखेको लेखक तुम्बाहाङफेले मेजिनीले भनेका ’संसारका कुनै पनि जाति वा समुदायलाई समाप्त गर्नको निमित्त मारिरहनु पर्दैन ।उनीहरूको भाषा, धर्म, संस्कार–संस्कृति र इतिहास नष्ट गरिदिए पुग्छ ।’ भनाइलाई विशेष जोड दिँदै लेखकीय मन्तव्य राखेका थिए। त्यस्तै,प्रमुख अतिथि बिन्देश्वर प्रसाद लेखकले ‘अध्ययन र लेखनको निम्ति उमेरले नछेक्ने उदाहरणका रूपमा प्रस्तुत भएका लेखक लीला बहादुर तुम्बाहाङ्फे सबैका लागि प्रेरणादायी व्यक्तित्व भएको र उहाँबाट सबैले सिक्नुपर्ने भन्दै आफूले ‘याक्थुङ साप्मुन्धुम’ अध्ययन गर्ने बताए ।

त्रिचन्द्र कलेज काठमाण्डौबाट इतिहास विषयमा स्नातक गर्नु भई ३५ वर्ष शिक्षण सेवाकाल बिताउनुभएका इतिहासविद तुम्बाहाङ्फे नेपाल सरकारबाट ’सेवा पदक’ पाएका व्यक्तित्व पनि हुन् ।

खोज,अनुसन्धान, शिक्षण, लेखन र प्रकाशनमा जीवन समर्पण गर्नुभएका उहाँले २०६३ सालमा ऐतिहासिक ग्रन्थ ’सातरेनुहाङ तुम्बाहाङ्फे वंशावली र फेदाप लिम्बुवान’ (ऐतिहासिक ग्रन्थ) लेखन÷प्रकाशन गर्नुभएको छ ।

लेखक लीला बहादुरको हङकङबासी छोरी भावना तुम्बाहाङ्फे र पासाङ नाम्ग्याल लामाले सो पुस्तक प्रकाशन गरेका हुन् भने सो पुस्तकको सम्पादक डी.बी.आङबुङ रहेका छन् ।