November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

शृङ्खलालाई अझ अगाडि बडाउन केही न केही गर्छुः संयोजक राना

1.3K

हङकङ । हङकङ साहित्यिक साझा शृङ्खलाद्धारा संयोजकमा जुनू राना र सह–संयोजकमा रोशन यक्सो चयन भएका छन् । आइतबार जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा सम्पन्न  १४४ औं साहित्य श्रृंखला, ‘१३ औं वार्षिक उत्सव, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम–२०२५’ बाट राना र यक्यो संयोजक र सहसंयोजकमा चयन भएका हुन् ।

नेपालको बागलुङ थात्थलो भई हङकङमा बसोबास गर्दै आएकी राना युवा पुस्ताकी सशक्त कवि हुन् । उनको कवितामा विषेशतः उत्पिडन, सामाजिक विषमता र विसंगतिहरू र प्रेमभाव पाइन्छन् । ‘रातो नदी’ लेखक उनी कविता अलवा समाजसेवामा समर्पित छन् ।

संयोजकमा चयन भएसँगै उनले शृङ्खलालाई अगाडि बढाउन केही गर्ने प्रतिवद्धता जाहेर गरेकी छन् । ‘हङकङमा हुने साहित्यिक गतिविधिका लागि सक्रिय संस्था नै शृङ्खला भएका कारणले अझैं अगाडि बडाउन केही न केही कोशिस म गरिनै रहन्छु ।’ उनले सस्थापकहरुकै पदचापमा अघि बढ्ने पनि बताइन् ।

Advertisement

पुनः सहसंयोकमा दोहोरिएका रोशन यक्सो अब्बल कवि हुन् । कविता अलवा उनी समाजसेवामा सक्रिय छन् । ताप्लेजुङ पुख्र्यौली थलो रही हङकङमा बसोबास गर्दै आएका यक्सोको भर्खरै ‘सम्झनाको चोमोलुङ्मा’ कविता संग्रह प्रकाशनमा आएको छ ।

याउ चि मोङ डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङको प्रमुख आथित्यता र साहित्य शृङ्खलाका संयोजक रमण गुरुङ सभापति रहेको उक्त कार्यक्रममा हङकङका ४० साहित्यकारहरुको सृजनाहरु समेटिएको ‘शृङ्खला–७’ लोकार्पण गरिएको थियो । उक्त पुस्तकमाथि साहित्य शृङ्खलाका संरक्षक तथा ‘शृङ्खला–७’ का सम्पादक दाजु गुरुङले समीक्षा गरेका थिए । उनले हङकङ बाहिर विश्वको जुनसुकै क्षेत्रमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ताम्रपत्रद्धारा सम्मान गर्ने गरी २०२४ मा स्थापित ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार–२०२५’ का लागि पूर्व प्राज्ञ समेत रहेका कवि तथा साहित्यकार शशी लुमुम्बूलाई छनौट गरिएको घोषणा समेत गरेका थिए ।

कार्यक्रममा ‘किसन राई स्मृति प्रतिभा पुरस्कार–२०२३–२०२५’ बाट साहित्य शृङ्खलाका पूर्व संयोजक तथा सल्लाहकारसमेत रहेका साहित्यकार तथा पत्रकार टोपबहादुर याक्खा र ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार–२०२३–२०२५’ द्धारा साहित्य शृङ्खलाका पूर्व संयोजक तथा सल्लाहकारसमेत रहेका स्व.लालबहादुर गुरुङलाई मरोणापरन्त सम्मान गरिएको थियो । त्यस्तै, अध्यापक शारदा गुरुङलाई ‘लालबहादुर गुरुङ स्मृति प्रतिभा पुरस्कार २०२३–२०२५’ र शृङ्खलाका संरक्षकसमेत रहेका साहित्यकार राजकुमार राईकृत उपन्यास ‘किवाहाङ’ लाई ‘स्रष्टा र सृजना पुरस्कार २०२३–२०२५’ द्धारा सम्मान गरिएको थियो ।

स्रष्टाहरु दाजु गुरुङको कथासंग्रह ‘निरजोया’, रमण गुरुङको कवितासंग्रह ‘आकार हामीले हिडेर आएको बाटोको’, जुनु रानाको कवितासंग्रह ‘रातो नदी’, विशु समको गीतसंग्रह ‘परदेशी भूमि’, चन्द्र मादेन ‘आन्छन्’को कथासंग्रह ‘आन्छनका कथाहरु’ र बालिका बान्तावाको उपन्यास ‘प्याउली’लाई पनि सम्मान गरिएको थियो ।

यस्तै, नेपाली भाषा, साहित्यसँगै साहित्य शृङ्खलालाई अगाडी बढाउन विशेष योगदान दिदै आएका ‘द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापा, एन.आर.एन.ए.का उपाध्यक्ष अनु राई, हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स), साहित्य शृङ्खलाका संरक्षक दाजु गुरुङ, साहित्य शृङ्खलाकी सदस्य तथा गायिका बिन्नी लामा राई र साहित्य शृङ्खलाकै सदस्य एवं बालकवि सुनिस्का याक्खालाई कदर–पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार कमल पौडेल, साहित्य शृङ्खलाका संरक्षकद्धय राज कुमार राई र टंक सम्बाहाम्फे, सल्लाहकार चन्द्र मादेन ‘आन्छन’, शिक्षक तथा संचारकर्मी डा.चुरा थापा, द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापा, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ र प्रमुख अतिथि अरुणा गुरुङले शुभकामना मन्तव्य राखेका थिए । यस्तै, अरुणा शर्मा, पूर्णिमा शाह, सुनिता गिरी, जुनू राना, बालिका बान्तावा, सुन्दर गुरुङले कविता तथा गजल वाचन गरेका थिए भने गायिका बिन्नी लामा राईले गीत प्रस्तु गरेकी थिइन् ।

कार्यक्रमको संचालन पूर्व संयोजक एवं सल्लाहकार टोपबहादुर याक्खाले गरेका थिए भने निवर्तमान संयोजक तथा सल्लाहकार सुनिता गिरीले स्वागत मन्तव्य राखेकी थिइन् ।