हङकङ । साहित्यकार दाजु गुरुङको तेस्रो कृति ‘निरजोया’ लोकार्पण गरिएको छ । लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका गुरुङले हङकङबाटै यस उपन्यास सार्वजनिक गरेका हुन् ।
संखुवासभा समाज हङकङ र हङकङ साहित्यिक साझा शृङ्खलाको संयुक्त आयोजनामा हङकङको जोर्डनस्थित ब्लुओसन रेस्टुरेन्टमा आइतबार सम्पन्न लोकार्पण कार्यक्रममा नेपालका लागि उप–वाणिज्यदूत भोजकुमार भट्टराई, साहित्यकार देवेन्द्र खेरेश, कवि जूनु राना हङकङका सामाजिक संस्थाहरूका प्रतिनिधि, साहित्यकार लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
यस उपन्यासमा नेपालीहरू विदेश पलायन हुने कारण, बाध्यता र डायस्पोरामा उनीहरूले भोगिरहेका सुखदुःखलाई सुक्ष्म एवं मनोवैज्ञानिक ढङ्गले वर्णन गरिएको बताइएको छ ।
संखुवासभाको मादी नगरपालिका स्थायी घर भएका गुरुङ झन्डै डेढ दशकदेखि हङकङमा बसोबास गरिरहेका छन्। गुरुङले त्रिभुवन विश्वविद्यालयबाट स्तानकोत्तर गरेका छन् भने उनमा प्राध्यापनको अनुभव समेत छ ।
यसअघि उनले ‘टाँकीका फूलहरू’ र ‘लाई–सि’ कथा सङ्ग्रह प्रकाशन गरेका थिए । ‘निरजोया’ उनको तेस्रो कृति हो ।