November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भरतपुर आँखा अस्पताल स्वदेश तथा विदेशका सेवाग्राहीहरुको सेवाको केन्द्र: प्रधानमन्त्री

२०८० फाल्गुन १८

1.7K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको बताएका हुन् ।

शुक्रबार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस अस्पताल स्वदेश तथा विदेशका सेवाग्राहीहरुको सेवाको केन्द्र भएको बताए । उनले भने, ‘भरतपुर आँखा अस्पताल भरपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशकासमेत सेवाग्राहीहरुको आँखा सम्बन्धि उपचारको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी राष्ट्र भारतबाटसमेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीको उल्लेख्य संख्या रहुनुले पनि अस्पतालको सेवा प्रवाहको गुणस्तर प्रमाणित भएको छ । यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरुको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरुको साझा पहल र सक्रियताका कारण अस्पतालले विशिष्ट सेवा र विस्वासनियतामासमेत बढोत्तरी हुँदै गएको छ । यो खुशीको कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले नवनिर्मित भवनको उद्घाटनपछि बालरोग, बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर ओपिडी कक्षमा विस्तार, फार्मेसी कक्ष, चस्मा विक्रि कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स् हल र स्तनपान कक्षको व्यवस्था पनि गरिने जानकारी पाउँदा खुशी लागेको बताए ।

Advertisement

सरकारले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले देशभरका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब,विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको बताए ।

स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्त्वपूर्ण निर्णय भई कार्यान्वयनमा आएको पनि उनले बताए । उनले संविधानअनुरुप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निमित्त नेपाल सरकारले गम्भीर पहल लिइरहेको पनि बताए । उनले सरकारका प्रयासले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास लिएको बताए । प्रधानमन्त्री दाहालले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट अघि बढाइएको बताए ।