बाग्लुङ । स्वास्थ्यकर्मी दलित भएको थाहा पाएपछि बिरामीले औषधि लिन नमानेको पाइएको छ ।
बागलुङ नगरपालिका–१३ स्थित पैयूँपाटा शहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सोनम परियारमाथि विभेद भएको हो ।
सोनम उक्त स्वास्थ्य केन्द्रमा सरुवा भएर भदौ १ गते मात्रै पुगेकी हुन् । घटना गत बुधबारको हो। स्वास्थ्य केन्द्रमा एक महिला ग्यास्ट्रिकको समस्या भएको भन्दै जचाउन आएकी थिइन् । सोनम नयाँ भएकाले ती महिलाले सोधखोज गरिन्। महिलासँग परिचय गर्ने क्रममा सोनम दलित भएको थाहा पाएपछि विभेद गरेको सोनमको भनाइ छ ।
‘दमिनी पो रहिछौ तिमीले दिएको औषधी त कसरी खाने लैजान्न भन्नुभयो’ सोनामले बताएको समाचारश्रोतले जनाएको छ ।
महिलाको यस्तो कुरा सुनेपछि गाउँको स्वास्थ्य केन्द्रमा किन दलित पठाएका होलान् भनेर अन्यले समेत कानेखुसी गरेको सोनमको गुनासो छ।
बिरामीले तल्लो जातको भनेर औषधि नै नलगेपछि सोनामले रुँदै नगरको स्वास्थ्य शाखामा जानकारी गराइन् ।
सोनमले रुदै फोन गरेपछि बागलुङ नगर स्वास्थ्य शाखाले नगरपालिकामै बोलाएर घटनाबारे स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी लिएका थिए ।
विभेद गर्ने बिरामीको परिचय नखुलेकाले खोजी भइरहेको पनि खनालले जानकारी दिएका छन् ।
यसरी स्वास्थ्यकर्मीमाथि जातीय विभेद गर्नेलाई खोजी गरी कानुनी कारबाही गर्नुपर्ने माग दलित अधिकारकर्मीले गरेका छन् ।