सुनसरी — धरानको एक होटलमा २६ वर्षीया एक महिलाले आत्महत्या गरेपछि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्ने चिकित्सक वीरगन्ज महानगरपालिका–२३ बस्ने करण यादव भएको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायले बताएका छन् ।
बाराको कलैया माइतीघर भएकी र रौतहटको पौरही–५ मा विवाह गरेकी २६ वर्षीया प्रकृति सुवेदी डा. यादवलाई भेट्न आएका बेला बिहीबार धरान–१० स्थित जनहित गेस्ट हाउसको कोठामा तन्नाको पासो लगाएर आत्महत्या प्रयास गरेकी थिइन् । पासो लगाएको अवस्थामा फेला पारेपछि सुवेदीलाई तत्काल बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरी आईसीयूमा उपचार हुँदै थियो । आईसीयूमा उपचार गर्दागर्दै महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि डा. यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
