April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पाँच महिनासम्म रोकिएको आयात खुल्दा बैंकिङ कर्जा एक खर्बभन्दा धेरैले बढ्यो

२०७७ कार्तिक २५

3.5K

काठमाडौं–कोभिड–१९ का कारण ५ महिनासम्म रोकिएको आयात बढ्न थालेसँगै बैंकहरुको कर्जा लगानी पनि बढ्न थालेको छ। साउनसम्म वाणिज्य बैंकहरुको कर्जा विस्तार ऋणात्मक देखिएकोमा भदौदेखि लगातार बढिरहेको छ। कोभिडका कारण अझै धेरै क्षेत्र ठप्प रहेको र नयाँ व्यवसाय पनि सुरुवात हुन नसकेकोमा बैंकको कर्जा लगातार बढिरहेको हो। 

साउनयता वाणिज्य बैंकको कर्जा विस्तार मात्रै एक खर्ब २८ अर्ब रुपैयाँले बढेको छ। लकडाउन तथा निषेधाज्ञा खुकुलो हुन थालेसँगै व्यापारीहरुले विदेशबाट सामान आयात गर्न थालेकाले कर्जा बढेको सिटिजन्स बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा बताउछन्। 

कोभिडका कारण गत चैतदेखि अत्यावश्यकबाहेकका सामान आयात हुन नसक्दा बैंकिङ कर्जा घटेको थियो। गत चैतमा वाणिज्य बैंकहरुको कर्जा लगानी २८ खर्ब ४५ अर्ब रुपैयाँ थियो, जुन तीन महिनामा २८ खर्ब १६ अर्ब रुपैयाँमा खुम्चिएको थियो। 

Advertisement

गत चैतमा अघिल्लो वर्षको तुलनामा ७।४५ प्रतिशतले आयात घटेको थियो। लकडाउनको समयमा व्यापारीहरुले सामान आयात गर्न नपाउँदा उनीहरुले लिने कर्जा पनि घटेको देवकोटाको विश्लेषण छ। त्यतिबेला उनीहरुले एलसीमार्फत् गर्ने कारोबार तथा ओभरड्राफ्ट पनि ठप्प भयो। तर भदौ लागेसँगै आयात विस्तारै खुल्दै गयो। अझ दसैं, तिहार तथा छठ पर्वका लागि भन्दै व्यापारीहरुले सामान आयात बढाउन थाले।

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने साउनको तुलनामा असोजमा तीन गुणाले आयात बढेको छ। विगतका वर्षको तुलनामा आयातको वृद्धिदर कम भए पनि पछिल्लो महिनामा बढिरहेको छ। 

बन्द रहेको बाँध खुला हुँदा आउने भेलजसरी आयात बढेको र बैंकको कर्जा पनि बढेको बैंकरहरु बताउछन्। आक्रामक रुपमा बढिरहेको कर्जा केही महिनापछि सामान्य हुने देवकोटाको विश्लेषण छ। 

पछिल्लो समय उद्योगभन्दा पनि व्यापारका लागि बढी कर्जा गएको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी बताउछन्। उनका अनुसार लकडाउन विस्तारै खुलेसँगै साना कर्जा अत्याधिक गइरहेको छ। लकडाउनको सुरुवाति अवस्थामा कर्जा प्रवाह ठप्प भएपछि बैंकहरु साना तथा व्यक्तिगत कर्जामा केन्द्रित हुन थालेका हुन्। 
अर्कोतर्फ दोस्रो बजारमा लगातार सुधार हुन थालेसँगै केही समयदेखि शेयर कर्जा राम्रो गइरहेको भण्डारी बताउछन्।

नेपाल राष्ट्र बैंकले कोभिडका कारण प्रभावित ऋणीको धितो लिलामी नगर्न र उनीहरुका लागि बैकल्पिक उपाय अपनाउन निर्देशन दिँदै आएको छ। यसका लागि राष्ट्र बैंकले पुनर्कर्जाको व्यवस्था गर्नुका साथै किस्ता र व्याज तिर्न नसक्ने ऋणीको पुनर्तालिकीकरण जस्ता उपाय अपनाउने नीतिगत व्यवस्था गरेको छ। 
त्यसैले गर्दा बैंकहरुले व्याज र किस्ता तिर्न नसक्ने ऋणीलाई व्याज तिर्न कर्जा दिएर मिलान गरिरहेका छन्। यसले ऋणीको थप ऋण बढ्छ भने बैंकको निक्षेप तथा ऋण प्रवाह दुबै बढ्छ। कागजी हिसाब मिलानका कारण बैंकमा थप जोखिम बढ्ने विश्लेषण गरिए पनि राष्ट्र बैंकले अवस्था सामान्य नहुन्जेल धर्य गर्न अनुरोध गर्दै आएको छ। nepallive