काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र अब गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने बताए । तर अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेको उनले बताए ।
उनले भने, ‘गुनासो गर्ने होइन, समाधान खोज्नुपर्छ । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिनका उत्प्रेरित गर्नुपर्छ । सरकारले यदी सुनेको पुगेको छैन भने अझै सुन्न तयार छ ।’
उनले संसदमा विचाराधिन कानूनको विषयमा निजी क्षेत्र छलफलमा भाग लिन चाहेको बताउदै निजी क्षेत्रको सुझाव स—शरीर उपस्थित भएर सुन्ने र सुझाव ग्रहण गरेर निर्माणाधीन कानून पूरा गर्ने प्रस्ताव अर्थ समितिको सभापतिलाई पनि राख्ने उनले बताए ।